महोत्तरी।निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक नगरपालिकाकाे वडाको मतगणना पुनः भइरहेको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को मतगणना आइतबार दिउँसोदेखि उच्च अदालत जनकपुरमा भइरहेको हो ।उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार अदालतको आदेशअनुसार पुनः मतगणना भइरहेको छ ।
मनरा शिसवा नगरपालिका–१० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्च अदालतले चार वर्षपछि सदर गर्दै सो आदेश दिएको थियोे ।सर्वाेच्चको आदेश अनुसार २०७५ असार २१ गतेको उच्च अदालतको आदेशानुसार विवादित विषयलाई दोहोर्याएर मतगणना गर्न ०७८ कातिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको थियोे ।
यस्तो थियो विवाद
नयाँ शासकीय स्वरूप अनुसार स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । ०७४ असोज २ गते गरिएको स्थानीय तहको निर्वाचनमा मनरा शिसवा नगरपालिकामा नतिजा सार्वजनिक गरिएको थियो ।स्वतन्त्र उम्मेदवार रमेशकुमार रायले २ सय ६७ मत प्राप्त गरेकाे थियो । रायलाई तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका थिए।
उनकाे निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले २ सय ६४ मत प्राप्त गरेका थिए।निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर भएका मतहरू मध्येबाट तीन मतलाई चौधरीको पक्षमा जोडेर उनको मत पनि २ सय ६७ पु¥याइदिएको आरोप रायले लगाउँदै आएकाेछ।राय र चौधरी दुवैजनाको मत बराबर भनी घोषणा गरी गोला छान्ने क्रममा अरुण चौधरी निर्वाचित भएको थिए।जर्बरजस्ती तीन ओटा बदर मतलाई सदर गरी गोला प्रथा गराई चौधरीलाई जिताइएको भन्दै विजयीको दावी गर्दै आएका रायले उच्च अदालत जनकपुरमा पुनः मतगणनाको माग गर्दै मुद्दा दिएका थिए।
मुद्दामा सुनुवाइ गर्दै ०७५ असार २१ गते कानुन बमोजिम १५ दिनभित्र पुनः मतगणना गर्न उच्च अदालतले आदेश जारी गरेको थियो ।
मतको सदर र बदरमा विवाद देखिएको भन्दै अदालतले पुनः मतगणना हुनु पर्ने आदेश जारी गरेको थियो ।
गोला प्रथा गर्दा पनि निवेदकको अनुपस्थितिमा गरिएको भन्दै अदालतले निर्वाचन कसूर तथा सजाय ऐन २०६३ को दफा ४४ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम बदर हुने मत बदर नगरेको वा कानुन बमोजिम सदर हुने मत सदर नगरेको देखिएकाले दोहोर्याएर मतगणना गर्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेशपछि अरुणकुमार चौधरीले आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत काठमाडौँमा निवेदन दिएका थिए।
सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई नै सदर गरिदियो ।
कोभिड महामारीका कारण लकडाउनले आदेश जारी भएपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा मिति तोक्न नसकिएको अदालतले जनाएको थियो ।
पछि असोज १० उच्च अदालत जनकपुरले दोहोर्याएर मतगणना गर्न ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरेको थियाे।स्थानीय तहको चुनावमा मनरा शिसवा नगरपालिको वडा नम्बर १० मा वडाध्यक्ष पदमा ९ जना उम्मेदवारहरू रहेका थिए ।




