
बुटवल-पाल्पाकी एक महिलाले चारजना बच्चा जन्माएकी छिन्।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले चार छोरी जन्माएकी हुन्।
कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार चारैजना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
उनले जन्माएका बच्चाहरुको तौल एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम रहेको अस्पतालले जनाएको छ।
सामान्यभन्दा आधा कम तौल रहेका बच्चाहरुलाई संक्रमण नहोस् भनेर एनआइसीयूमा राखिएको अस्पतालका जनसम्पर्क अधिकृत गुरुङले बताए।