जनकपुरधाम- धनुषामा एक प्रधानाध्यापक माथि भएको दुव्यर्वहार गरेको विरोधमा जिल्ला भरका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
प्रधानाध्यापक माथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरुले आज सोमवार जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन् ।
धनुषा जिल्ला भरिका शिक्षकहरुले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन् । जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरुको जुलस नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
‘शान्ति सुरक्षा कायम गर, शिक्षकलाई दुव्र्यवहार गर्नेमाथि कारबाही गर, जनमत पार्टी मुर्दावाद !’ जस्ता नारा लगाउँदै शिक्षकहरुले प्रदर्शन गरेका हुन् ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै शिक्षकहरुले जनमत पार्टी मुर्दावाद नारा समेत लगाएका छन् ।
प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
सबैला नगरपालिकाको रघुनाथपुर स्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई जनमत पार्टी समर्थित विद्यार्थीहरूले शुक्रवार कार्तिक १२ गते दुव्र्यवहार गरेका थिए । विद्यालयबाट मोटरसाइकलमा बाहिरिने क्रममा विद्यार्थीले पठनपाठन नगराएको, अनावश्यक शुल्क लिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई कालोमोसो दल्नुको साथै चप्पलले समेत हिर्काएका थिए ।
घटना पश्चात नेपाल शिक्षक महासंघले आन्दोलन परिचालन समिति गठन गरी आन्दोलन शुरु गरेको हो । प्रधानाध्यापक साहमाथि दुव्र्यवहार गर्नेलाई कारबाही नगरिए आन्दोलन जारी राख्ने शिक्षकहरुले चेतावनी दिएका छन् ।