
जनकपुरधाम - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक पार्टी महाधिवेशनको सार्वजनिक गरिएको समय तालिका नै अन्तिम रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाले आज सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस पटक तोकिए कै मितिमा पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने दावी समेत गरे । उनले भने, ‘यस पटक तोकिएको महाधिवेशन तालिकामा कुनै किसिमको फेरबदल हुँदैन । मंसीर २४ देखि २६ मै महाधिबेशन हुन्छ ।’
काँग्रेसमाथि जनताको भरोसा बढेको उल्लेख गर्दै उनले कांग्रेसलाई जनताको थप भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दह्रिलो संवाहक बनाउन आफू लागि परेको पनि बताए ।
पौडेलले पार्टी सभापतिमा मधेसी समुदायबाट बने पनि फरक नपर्ने बताउँदै उनले भने, ‘पार्टीको सभापतिमा टीका लगाएर दिने कुरा आउँदैन, सभापतिमा मधेसबाट नै बने फरक पर्दैन । तर, यसको निर्णय कार्यकर्तामा छोड्नुपर्दछ ।’
पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यकता भएको बताउँदै उनले रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार राम्रो ल्याएर राष्ट्र हाँक्न र प्रतिपक्षीसँग सामना गर्न सकिने नेतृत्व चाहिएको बताए । उनले भने, ‘युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको माग छ ।’
नेता पौडेलले अडाडि थपे, ‘सबैलाई एक ढिक्का बनाएर अगाडी बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनु पर्दछ । पार्टीको सभापतिको जिम्मेबारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको जिम्मामा छोड्नु पर्छ, न कि भागबण्डाको आधारमा दिइनु पर्छ ।’
बरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिंगको आधारमा प्रधानमन्त्री नबनेको बताउँदै उनले देउवा संविधानको मर्म तथा विधि प्रक्रिया अनुसार नै प्रधानमन्त्री बनेको बताए ।
यद्यपि सरकारले गति लिन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्दै भने, ‘सरकारले गति लिन सकेको छैन, सरकारले पूर्णता पाएको छ विश्वास गरौँ चाँडै नै कामले पनि गति लिन्छ ।’
वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थाको सरकार गठबन्धन भएको पनि आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लड्ने पनि स्पष्ट पारे।
पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताउँदै उनले संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको बताए। देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने पौडेलको भनाई रहेको थियो।
उनले न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्छ भन्ने पक्षमा आफू रहेको बताए ।