महोत्तरी। महोत्तरीमा तीन महिनामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १ सय १६ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तैै सो अवधिमा भएको सवारी दुर्घटनामा १ सय ६६ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले चालु आ.व.को तीन महिनामा ७ हजार ६ सय ५० जना ट्राफिक कारवाहीमा परेको र तिनीहरुबाट ६० लाख ९५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन् ।
साउनमा ५१ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जसमा ४ जना महिला र २ जना पुरुष रहेका छन् । त्यस्तै भदौमा २६ वटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, जसमा २ महिला र १ पुरुष रहेका छन् । असोजमा ३९ वटा सवारी दुर्घटना हुँदा २ महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।