सर्लाही- सर्लाहीको बयलवासमा सो रुम लक्ष्मीपूजा गर्न बालिएको दियोबाट ट्याक्टर रहेको एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
बिहिवार राती १ बजेतिर ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित ब्रहमबाबा चौकमा रहेको श्याम मैनालीको घरमा आगलागी भएको हो । आगलागीबाट मैनालीको काठ र टायलले छाएको दुई तले घर पूर्णरुपमा जलेको छ भने सोही घरको तल्लो तलामा कोठा भाडा लिई मिथिलेस महतोले संचालन गरेको मिनाक्षी टे«डर्स ट्याक्टरको सोरुममा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीमा परेर सोरुमभित्र रहेको सुपर न्यू होलैन्ड ३६३० मोडेल नम्वरको एउटा ट्याक्टर र सोरुमका अन्य पार्टपूर्जा पूर्णरुपमा जलेको छ भने अर्को ट्याक्टरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरण अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव ५५ लाख रुपियाँ बराबरको क्षति भएको पाइएको बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।प्रनि ढुंगानाका अनुसार सदरमुकाम मंलगवाबाट दमकल बोलाएर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। उनका अनुसार, स्थानीयवासी, प्रहरी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । “एउटा ट्याक्टर पूर्ण रूपमा जलेको छ, अर्कोमा आंशिक रूपमा क्षति पुगेको छ,” उनले भने। दीपावलीका लागि बालिएको दियो सल्केर आगलागी भएको प्रहरीको अनुमान छ।
आगालागीमा मानवीय क्षति नभए पनि ट्याक्टर राख्ने गोदाम पूर्ण रूपले नष्ट भएको उनले जानकारी दिए।