धनुषा।कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधाम सहित मिथिलाञ्चलमा मनाइने अन्नकुट पर्व आज धूमधामका साथ मनाइँदै छ ।
यस पर्वमा जनकपुरधामका मठ मन्दिरहरूमा छपन्न प्रकारका व्यञ्जन (खानाका परिकार)हरु तयार पारेर भगवानलाई अर्पण गरी आज राती प्रसादको रुपमा सर्वसाधारणलाई अन्नकुटको प्रसाद खुवाउने चलन रहेको छ ।
जनकपुरधामको सीताकुण्डमा २०३२ साल देखि नै भव्य रुपमा अन्नकुट पर्वको आयोजना गर्दै आएको मन्दिरका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका रामनरेश उपाध्यायले जानकारी दिनुभयो ।
जनकपुरधामको सीता कुण्डका अतिरिक्त जानकी मन्दिर, राम मन्दिर , रत्नसागर, अग्निकुण्ड, विहारकुण्डका मठ मंन्दिरहरमा धूमधामका साथ पर्व मनाउने परम्परा रहेको छ । अन्नकुटको प्रसाद ग्रहणका लागि भक्तजनहरू स्वयं मन्दिरमा आउने गर्छन् ।
त्रेतायुगमा भगवान् श्रीरामले लंका माथि विजय हासिल गरेर माता सीतालाई फिर्ता ल्याएको खुसीयालीको सम्झनामा अन्नकुट पर्व मनाउने परम्परा रहेको महन्थ रामनरेश उपाध्यायले बताउनुभयो। उहाँले यस पर्वमा ५६ प्रकारका खाद्यान्न सामाग्रीहरू भगवानलाई अर्पण गर्ने चलन रहेको बताउनुभयो।
जनकपुरधामको सीता कुण्ड स्थानमा तीन हजार भक्तजनहरूले प्रसाद ग्रहण गर्दै आएको पनि महन्थ उपाध्यायले बताउनुभयो । यसमा प्रयोग हुने अधिकांश सामाग्रीहरू खाद्यान्न नै रहने गरेकाले कृषिलाई अन्नकुटले प्रोत्साहित गर्ने गरेका छन् ।




