बारा जिल्लाको सिमरा क्षेत्र नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको पटक पटकको झडपका कारण आज (बिहीबार) पनि तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सिमरा विमानस्थल आसपास र राजमार्गका केही क्षेत्रमा दोस्रो दिन पनि कर्फ्यु आदेश जारी गरेको छ।
बुधबार भएको झडपपछि सहमति भएर सडक सञ्चालनमा आए पनि बिहीबार बिहानैदेखि युवाहरू पुनः प्रदर्शनमा उत्रिएपछि अवस्था अशान्त बनेको हो।
विरोध प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र जेनजी समूहका युवाबीच भनाभन र त्यसपछि झडप भएको थियो। झडपका क्रममा केही युवाहरूले सिमरा विमानस्थलको गेट तोडफोड समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।
जिल्ला प्रशासन कार्यालय बाराले स्थिति थप बिग्रन नदिन बुधबार र बिहीबार पनि निश्चित समयका लागि कर्फ्यु आदेश जारी गरेको छ।




