महोत्तरी - बर्दिबासबाट चोरी भएको मोटरसाइकलसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो एक महिनामा बर्दिबासबाट विभिन्न समयमा चोरी भएका बजाज कम्पनीका पल्सर मोटरसाइकल र चोरीमा संलग्नहरूलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
चोरी भएको मोटरसाइकलसहित प्रहरीले सर्लाही हरिवन–१० का ३२ वर्षीय दिलबहादुर सिङदोङ, वाग्मती नगरपालिका–४ का २१ वर्षीय पदम थिङ, मकवानपुर बाग्मती गाउँपालिका–७ का २६ वर्षीय पासाङ तितुङ र सर्लाही वाग्मती नगरपालिका–४ का २२ वर्षीय सुरेश घिसिङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले बताएका छन् । सर्लाहीको हरिवन, वाग्मती र रौतहटबाट चोरी भएका मोटरसाइकल चोरहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।
२०७२ जेठ ११ गते सिटी केयर अस्पतालअगाडि पार्किङ गरिएको लु.प्र.०१–००६प.०८२५ नम्बरको कालो–रातो रङको २२० सिसीको पल्सर, जेठ १९ गते बर्दिबास–१४ हमाल टोलबाट मधेस प्रदेश ०२–००८प.८८६८ नम्बरको २२० सिसीको कालो–रातो रङको पल्सर, हमाल टोलकै पर्शुराम महतोको घरअगाडिबाट जेठ २४ गते चोरी भएको २२० सीसीको अनटेस्ट पल्सर, तथा सोही दिन बर्दिबास–१४ रिसोना गल्लीमा पार्किङ गरिएको १५० सीसीको अनटेस्ट पल्सर मोटरसाइकलसमेतसहित चोरीमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बर्दिबासमा लगातार मोटरसाइकल चोरीका घटना हुन थालेपछि नियमित गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, सीसीटीभी क्यामराबाट निगरानी बढाउनुका साथै बर्दिबास मेकानिकल इन्जिनियरिङ एन्ड पार्ट्स संघ र मोटरसाइकल मर्मत ग्यारेज सञ्चालकहरूसँग समन्वय गरी चोरी भएको मोटरसाइकलको खोजी र चोरीमा संलग्नलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बमले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीका मुख्य योजनाकार मकवानपुर बाग्मती गाउँपालिका–७ का २६ वर्षीय पासाङ तितुङ रहेको खुलेको छ । रौतहटको चन्द्रनिगाहपुरमा डेरा लिएर बस्दै आएका तितुङले बर्दिबासमा मोटरसाइकल चोरीको योजना बनाउने गरेका थिए । चोरहरूबाट मोटरसाइकलको लक तोड्ने साँचोसमेत प्रहरीले बरामद गरेको छ ।




