धनुषा। तराईवासी नेपालीले ज्यादै महत्वका साथ मनाउने महान् छठपर्वको आज मंगलवार दोस्रो दिन खरना गरिँदै छ ।
पर्वको पहिलो दिन सोमवार नहाए खाए गरी शुद्ध भई व्रत बस्न सुरु गरेका व्रतालुहरुले आज मंगलवार दिनभरि भोकै बसेर बेलुकी दूध र सक्खरमा बनाइएको खिर तथा रोटी खाएर खर्ना गरेका छन्, जसलाई रसियाव रोटी पनि भनिन्छ ।
यस्तै वुधवार तेश्रो दिन साँझ पख अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिई विहिवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।
चर्मरोगको नाश तथा पारिवारिक सुख, समृद्धिका लागि छठी माताको आराधना गर्दै यो पर्व मनाइने गरिएको पण्डीत लालबाबु झाले बताउनुभयो।
नेपालको तराई क्षेत्र तथा उत्तरी भारतमा मनाइने छठपर्व धुमधामका साथ मनाइन्छ । निकै कठिन मानिने यो पर्वका चार दिनमध्ये दुई दिन छठ व्रतालुहरुले अन्न पानी नखाई भोकै बसी व्रत गर्दछन् ।
तराई क्षेत्रको हरेक गाउँमा नदी, पोखरी, तलाउ लगायतको जलाशयमा छठ पर्वका लागि छठ घाट सजाउने कार्य गरिएको छ । छठलाई हर्षोल्लासका साथ जनकपुरधाम सहित तराई मधेसका प्राय सबै ठाउँ हुँदै अहिले काठमाण्डौं लगायत देशको विभिन्न स्थानका पोखरी तथा नदीमा छठ घाट बनाउने र सजाउने कार्य भईरहेको छ।कात्तिक महिनामा निकै खर्च गरेर रंगीचंगी झकिझकाउ पारेर दुलही जस्तै सिंगारेर छठपूजा गरिन्छ । यता छठपर्वको अवसरमा यस क्षेत्रको विभिन्न स्थानको बजारहरुमा छठ पूजासँग सम्बन्धित विभिन्न सामग्रीहरु खरिदारी गर्ने छठ व्रतालुहरुको अहिले पनि घुइँचो लागेको छ ।
छठ पूजाको प्रसादको रुपमा बनाइने ठेकुवा, खजुरी, रसियाव रोटीलगायतको पूजा सामग्री बनाउनका लागि चक्की मिलमा गहुँ पिधाउँने कामहरु व्रतालुहरुले गरिरहेका छन् ।