
जनकपुरधाम- छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ। चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन ब्रतालुहरुले इष्टदेवलाई पूजा अराधना गरी खरना विधि सम्पन्न गरेका हुन्।
ब्रतालुहरुले माटोको नयाँ चुलो र माटो कै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्यको रुपमा दिनु पर्ने हुन्छ। खरनामा छठपर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउनु पर्ने हुन्छ ।
खरनामा नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन्। नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ। नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गर्छन् । यसरी खरना विधि सम्पन्न हुन्छ ।
व्रतालुहरुले आज छठको दाेश्रो दिन विहान देखि उपवास बसी खरना विधि गरेर भगवानलाई चढाइएकव खीर सेवन गरेपछि अब एक पल्ट चाैथो दिन उदयमान सूर्यको पूजा गरि अर्घ दिए पछि मात्र भोजन गर्नु पर्ने हुन्छ । यस अवधिमा ब्रतालुहरु पानी समेत खाँदैनन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ। यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा पर्व समापन हुनेछ।