धनुषा- गृहमन्त्री बालकृष्ण खाँडले व्यापार व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।
मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँडले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो। उहाँले माल, सामान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई आग्रह समेत गर्नुभयो ।



उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्या देखापरेका र ती समस्या समाधान गर्न वर्तमान सरकार तत्पर रहेको पनि गृहमन्त्री खाँडले बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघले प्रहरी प्रशासनले पारीबाट माल समान ल्याएको भनी झुठा मुद्दाहरु लगाएर सामान नियन्त्रणमा लिई अनावश्यक दुख दिई व्यवसायिक स्वतन्त्रता हनन गरिरहेकोले त्यसलाई रोक्न ज्ञापन पत्र मार्फत गृहमन्त्रीसँग माग गरेपछि गृहमन्त्री खाँडले व्यवसायिक स्वतन्त्रता हनन नगर्न प्रदेश २ का प्रहरी प्रमुख र जिल्ला स्थित प्रहरी निकायलाई निर्देशन दिनुभएको हो।
त्यसैगरी मैथिली विकास कोषले जनकपुरधाममा आयोजना गरेको अर्को कार्यक्रममा गृहमन्त्री खाँडले मैथिली भाषाको विकासको लागि वर्तमान सरकार ठोस कदम चाल्ने बताउनुभयो ।
उहाँले मैथिली विकास आयोग गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताउनु हुँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री देउवाले विगतमा बहुभाषिक विकासको लागि विभिन्न निणर्यहरु सम्बोधन गर्नुभएको छ। त्यसैले मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्नु हुन्छ ।’
गृहमन्त्री खाँडले देउवा प्रधानमन्त्री भएकै बेलामा सबै वर्गको राष्ट्रिय राजनीतिको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी/जनजाति, महिला र दलित लगायतका विभिन्न आयोग गठन र भाषिक विविधतालाई पनि सम्बोधन गर्ने निणर्य गरेको बताउंदै मैथिली भाषाको विकासका लागि आयोग गठन सम्बन्धी निणर्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री खाँडले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषिका लागि मात्र नभई राष्ट्रकै लागि एउटा गहना रहेको बताउनुभयो।
मन्त्री खाँडले भाषा, संस्कृति विकासका लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ। र उद्योगी, व्यवसायीको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ।’
उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरूसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भइरहेको पनि जानकारी दिनुभयो।
गृहमन्त्री खाँडले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।




