महोत्तरी- तराईमा मनाइने "समाचकेवा पर्व" थारू र मैथिली समुदायमा सुरु भएको छ । यी समुदायका दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।
मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने थारू समुदाय र मैथिली भाषीले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँहरू गीतमय बनेको छ । यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिक दिने गर्छन् ।
यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ । दसैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ । साँझपख समाचकेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन् ।
समाचकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीहरूले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक 'चुगला' र कुचोको मसाल बनाई गाउँ/टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ ।
'कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैं सुमधुर बनाइराख्न चुगलाको जुँगा ढडाउने गरिन्छ' औरही नगरपालिका २ औरहीकी मन्जु यादव भनिन् ।
सामा भनेको दिदीबहिनी तथा चकवा भनेको दाजुभाइलाई बुझाउने गरेको सुनिता यादवले बताइन् । यो पर्वमा माटोको समाचकेवाको भाँडो बनाइ पर्व अवधिभर दिदीबहिनीले पुज्ने गर्छन् ।
दाजुभाइ र दिदीबहिनीको प्रतीकको रूपमा माटोको समाचकेवा बनाई प्रचलित चलनअनुरूप पुजिने गरेको स्थानीय समाजसेवी सरोज यादवले बताए । उनका अनुसार कार्तिक पूर्णिमामा चलिबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामना सहित आशीर्वाद दिने र भोलिपल्ट विधिवत रूपमा अन्त्य गरिन्छ ।
सामाचकेवा पर्वका लागि बजारमा थरीथरीका माटाका मूर्तिहरू बिक्री गरेको भेटिन्छ । फुर्सदिला चेलीहरूले समाचकेवामा प्रयोग हुने मूर्तिहरू आफैं बनाउँछन् भने केहीले बजारबाट खरिद गरेर ल्याउने गर्छन् ।