धनुषा - जनकपुरधाममा हिन्दू र मुस्लिम समुदायबीच सम्प्रदायिक दंगा हुने स्थिती देखिए पछिस्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले विज्ञप्ति जारी गर्दै शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।
जनकपुर उपमहानगरपालिका-२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच झगडा भएको थियो।
शनिबार हिन्दु समुदायले मोटरसाइकल र्याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ। स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ‘‘केही उच्छ्श्रृखल व्यक्ति तथा समूहहरूले उपमहानगरपालिका २० देवपुरा रुपैठा भन्ने ठाउँमा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै तपसिलका चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन, २०२५ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति २०७५-०७-२७ गते दिउँसो २ः०० बजे देखि २०७५-०७-२८ गते राती १०ः०० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ।’’
स्थानीय प्रशासनले पुर्वमा जलाद नदीको कल्टी बांध पश्चिममा जनकपुर जटही मार्ग दोबाटो उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको सुचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा द्वारा जारी सुचनामा आदेश उल्घंन गर्ने जो सुकैलाई पनि प्रहरीले कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।