जनकपुरधाम – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये २० वडामा सहमतिमा नेतृत्व चयन भएको छ।
आइतबार सम्पन्न वडा अधिवेशनमा २० वटा वडामा सहमतिमा नेतृत्व चयन भएको हो। सहमति हुन नसकेका वडा नम्बर ८, ९, १०, २३ र २५ मा सोमबार निर्वाचन समितिले मतदानको तयारी सुरू गरेको छ। सभापतिका लागि बढी आकांक्षी भएपछि यी वडाहरूमा सहमति जुट्न नसकेको हो।
कांग्रेसका जिल्ला सभापति महेशशंकर गिरीले २० वटा वडामा सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए। सहमति हुन नसकेका वडामा सोमबार मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने उनले बताए।
सभापति गिरीका अनुसार जनकपुरका साथै जिल्लाका अधिकांश स्थानीय तहका वडाहरूमा पनि सहमतिमै नेतृत्व चयन भएको छ।
क्षीरेश्वरनाथ , जनकनन्दनी, मिथिला नगरपालिका, नगराईन लगायतका स्थानीय तहका वडाहरूमा सहमति मै नेतृत्व चयन भएको उनले बताए।
‘सबै ठाउँमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरेका थियौं, ७५ प्रतिशतभन्दा बढी ठाउँमा सहमति नै भएको छ,’ गिरीले भने,‘केही ठाउँमा विवाद देखियो। त्यहाँ भोलि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन्छ।’
गिरीले जिल्लाका अन्य स्थानीय तहका अधिकांश वडाहरूमा पनि सहमतिमै नेतृत्व चयन भएको जानकारी दिए। कांग्रेस केन्द्रीय निर्वाचन समितिले धनुषामा कात्तिक २७ गतेका लागि कार्यतालिका प्रकाशित गरे पनि २८ गते वडा अधिवेशन गर्ने सहमति भएको थियो।
धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ स्थानीय तहका १६९ वडाहरूमा आइतबार अधिवेशन प्रक्रिया सुरू भएको सभापति गिरीले जानकारी दिए।