जनकपुरधाम । प्रदेश २ को गठबन्धन सरकारमा आईतवार दुई जना मन्त्री थपिने भएका छन् ।
जनता समाजवादी पार्टी( जसपा)नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी(एस)बाट सत्रुधन महतो र प्रमोद कुमार यादव सहभागि हुने भएका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट निर्वाचित साँसद महतो उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि महतो भने संघीय सरकारमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर को ‘ख’बाट निर्वाचित संविधान सभा सदस्य यादव पहिलो पटक मन्त्री बन्न लागेका हुन । यादवलाई कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश २ ले जनाएको छ । पाँच दलीय संघीय सरकार गठबन्धन अनुसार प्रदेश २ को सरकारमा ४ वटा दलको सहभागिता अब हुने भएकोछ ।जसपा, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सरकारमा रहेको छ ।
अन्यथा नभए आईतवारदेखि नेकपा(एस)पनि सरकारमा सहभागि हुनेछ । सरकारमा ४ दल सहभागि भएपनि प्रारम्भमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)को गठबन्धन सरकारमा रहेको १३ जना मन्त्रीको संख्या नाघेको छैन् ।सरकारमा हाल मुख्यमन्त्री लालबाबु राउत समेत जसपाका ६ जना रहेका छन् ।
त्यस मध्ये एक जना मुख्यमन्त्री, तीन जना मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् ।मन्त्रीहरुमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विजय कुमार यादव, अर्थ मन्त्रि शैलेन्द्र साह र समाजिक विकास मन्त्रि नवलकिसोर साह रहेका छन् ।त्यसैगरि राज्यमन्त्रीहरुमा भूमी व्यवस्था, कृषि तथा सहकारीमा योगेन्द्र यादव र अर्थमा उषा यादव छन् । नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र कुमार सिंह रहेका छन् ।
माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह र सोही मन्त्रालयकी राज्यमन्त्री रुबी कर्ण छन् । नेकपा (एस)बाट महतो र यादव थपिने भएका छन् ।मुख्यमन्त्री निकट स्रोतहरुका अनुसार प्रदेश २ सरकारमा हाल मन्त्री र राज्यमन्त्रीको संख्या थपिने छैन् ।
तर नेकां र नेकपा (एस)ले राज्यमन्त्रीका लागि समेत सहमति भएको दावी गरेका छन् ।नेकपा (एस)ले एकजना राज्यमन्त्रीको दावी गरेका छन् ।कांग्रेसले भने कम्तिमा दुई जना राज्यमन्त्री पाउने बताउँदै आएको छ । प्रदेश २ मा चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा पार्टीको सभासद छैनन् ।सभासद भएपनि अन्य प्रदेश अथवा संघीय सरकारमा जनमोर्चा सहभागि छैन् ।तर गठबन्धनमा भने जनमोर्चाको सकृय सहभागिता रहेको छ ।