जनकपुरधाम- सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति पश्चात् जनकपुरका कांग्रेसीहरूले विद्राेह गर्दै सामुहिक राजिनामा गर्ने तयारी गरेका छन्।
असन्तुष्ट बनेका जनकपुरधाम उपमहानगरपालिका कांग्रेस नगरसमिति सभापति मनोजकुमार साह लगायतका नेता–कार्यकर्ताले शुक्रबार सामूहिक राजीनामा घोषणा गर्ने तयारीमा जुटेका छन्।
नगर सभापति साहले आज दिउँसो २ बजे पत्रकार सम्मेलनकाे आयोजना गरेर पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिने तयारी गरेका छन्।
साहले आफू सहित जनकपुरधाम वडा नम्बर १५ का वडा सभापति र सयभन्दा बढी क्रियाशील सदस्यहरूले राजीनामा गरेर पार्टी परित्यागको घोषणा गर्ने जानकारी दिए।
उनले भने, ‘दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हामी कांग्रेसको साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामाको घोषणा गर्दैछौं। राजीनामाको घोषणा गरेर मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी समेत दिन्छु।’
उनले पार्टीका कार्यकर्ताहरूको भावना बुझेर स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेको जनाए ।
साहले भने, `जनकपुरकाे सबै वडाका साथीहरूको भावना र आवाज बुझ्दा कांग्रेसले अरू पार्टीमा मत नहाल्ने अवस्था रहेकाे बुझेर कांग्रेसको मतलाई एकढिक्का राख्न पनि स्वतन्त्र उम्मेदवारी दिन जरूरी ठानेको छु।’
उनले स्वतन्त्र भएर लड्न साथीहरूले नै दिएको सल्लाह सुझाव अनुसार नेपाली कांग्रेसको रक्षाका लागि राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिने निर्क्यौलमा पुगेको जनाए ।
मेयर जसपालाई दिने निर्णय सच्याउन साहले यसअघि २४ घण्टे अल्टिमेटम दिएका थिए। निर्णय सच्याउन शुक्रबार बिहान ११ बजेसम्म दिएको अल्टिमेटम सकिएपछि उनले पार्टीबाट राजीनामा गर्ने निर्णयमा पुगेकाे साहले जनाए ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पनि साह जनकपुरधामको मेयरमा चुनाव लडेर तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहसँग पराजित भएका थिए।