चितवन- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले पाटीको दशौँ राष्ट्रिय महाधिवेशनले उच्च स्तरको समझदारी र एकता कायम गर्दै नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ ।
चितवनमा आजदेखि सुरु भएको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यो महाधिवेशनले अर्को पाँच वर्षका लागि देशलाई नै दिशानिर्देश र बाटो देखाउने एकताबद्ध नयाँ नेतृत्व निर्माण गर्ने बताउनुभयो ।
साना तिना अन्तरविरोधमा नअल्झी राष्ट्र निर्माणको अभियानमा समझदारी र एकताबद्ध प्रयासको उचाइबाट काममा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले नेपालमा बाँकी रहेका शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन र पूर्व पूर्व माओवादी लडाकुका समस्या समाधान गर्न एमालेको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देशभित्र शान्ति स्थापना हुनुपर्ने, विभिन्न जात जाती, भूगोलका बिचमा साम्प्रदायिक घृणा फैलाउने, जनतालाई विभाजित गर्ने कुराको आफूहरू विपक्षमा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले आउँदो चुनावपछि एमालेको सरकार बन्ने दाबी गर्नुहुँदै त्यसपछि बनेको सरकारले एमालेले सुरु गरेका बाँकी कामहरू द्रुत गतिमा अगाडि बढाउने बताउनुभयो ।
नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रताको वास्तविक अभ्यास सुरु गरेको उल्लेख गर्दै विश्वभरका राष्ट्रबिच आफूहरूले सार्वभौम समानता चाहेको र सबै राष्ट्रसँग मित्रताको नीति अवलम्बन गरेको अध्यक्ष ओलीको भनाई छ ।
अध्यक्ष ओलीले भारतसँग छलफल र संवादको माध्यमबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता लिइने पनि बताउनुभयो ।
आजदेखि सुरु भएको नेकपा एमालेको दशौँ राष्ट्रिय सम्मेलन मङ्सिर १२ गतेसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।