
मिथिलाञ्चलमा यति बेला विवाह पञ्चमीको रौनक छ । मङ्सिर ११ गते आइतबारको दिन मिथिलामा ‘श्रीमान् र सन्तानको’ लामो आयुको कामना गर्दै ‘रवि’ व्रत बस्ने चलन छ । तर जनकपुर–जलेश्वर सडक खण्डबाट करिब २ सय मिटर भित्र रहेको सोनाली कुमारी सिंह अर्थात् निहारिकाको जन्म घरमा भने त्यस्तो कुनै रौनक थिएन । बरु त्यो पुर्खौली घर सुनसान थियो । हामी भने जिउँदो छोरीको काजक्रिया गरिसकेका बुवा–आमालाई भेट्न उनकै घर पुगेका थियौँ ।
पर्खालले घेरिएको भए पनि वर्षौँ पुरानो उक्त घर खण्डहर जस्तै छ । घरमा आमा र बुवा मात्रै छन् । ६ छोराछोरी जन्माएका निहारिकाको परिवारको कान्छो सदस्य अर्थात् छोरा पनि अहिले घरमा बस्दैनन् । गाउँघरमा हुने अनेकन् गलत टिका टिप्पणीका कारण छोरासमेत गाउँमा बस्न नसकेर अन्यत्रै बस्न थालेको निहारिकाको बुवाले सुनाए ।
उनको परिवारको खुसी खोसिन सुरु गरेको करिब ३ वर्ष भएको निहारिकाका बुवाले सुनाए । सामाजिक बेइज्जती र अपमानका कारण चाडबाड वा अन्य पर्वमा पनि कुनै खुसी नहुने र पत्तोसमेत नहुने उनले सुनाए ।
आइतबार अपराह्न हाम्रो टिम निहारिकाको घरमा पुग्दा सुरुमा उनको बुवा निहारिकाको विषयमा बोल्नै मानेनन् । ‘काजक्रिया’ भइसकेको व्यक्तिको बारेमा बोल्नु ठिक हुँदैन भन्दै उनका बुवा तर्किन खोजे । हामी पत्रकार भएको कुरा बताएपछि त्यो घरभित्रबाट एउटी वृद्ध महिला बाहिर आइन् । ती वृद्ध महिला निहारिकाका आमा थिइन् । तिनै आमाले निहारिकाको सम्बन्धमा कुनै कुरै नगरौँ उनकै कारण मेरो सारा परिवार बिग्रियो, समाज बिग्रियो भन्दै रुन थालिन् ।
भक्कानिँदै बाहिर निस्किएकी निहारिकाकी आमाले छोरीकै कारण आफ्नो सबै कुरा तहसनहस भएको बताइन् । उनले भनिन्, ‘छोरी यस्ती होली भन्ने पहिला नै थाहा पाएको भए, उनलाई कोखमै मारिदिन्थे । उनकै कारण हाम्रो सम्पूर्ण परिवार समाजबाटै बहिष्कारमा परेका छौँ । बाहिर निस्कन सकेका छैनौँ, समाज र परिवारमा मुख देखाउन सकेका छैनौँ ।’
निहारिकाको आमाको आँसुसँगै एक छिन सन्नाटा छायो । हामी सबै केही समय चुपचाप रह्यौँ । आइतबारको दिन मिथिलामा ‘श्रीमान् र सन्तानको’ लामो आयुको कामना गर्दै ‘रवि’ व्रत बस्ने चलन छ । आइतबार ‘रवि’ व्रतको फलाहार गर्ने तरखरमा थिइन् सोनाली कुमारी सिंहकी आमा । बुवा भने हाफ सेन्डो र ट्र्याक पेन्ट लगाएर टोलाएर बसिरहेका थिए ।
जब निहारिकाको कुरा आउँथ्यो, परिवारबाट खोसिएको खुसीको चिन्तामा उनको बुवा र आमा पल पलमा भक्कानिन्थे । सुरुमा निहारिकाको विषयमा कुराकानी गर्न अस्वीकार गरेका उनका बुवा निर्मल कुमार सिंहले पछि हामीलाई बस्न अस्वीकार गरे । तपाईँकी छोरी ‘न्याय’ मागेर अनसन बसिरहँदा, गुहार मागिरहँदा तपाईँहरू यसरी चुपचाप बस्न मिल्ला र भन्ने हाम्रो प्रश्नसँगै निर्मलले निहारिकाका विषयमा थप केही कुरा गरे ।
यस्तो छ निहारिकाको पृष्ठभूमि
६ जना सन्तानका पिता रहेका निर्मल कुमार सिंहका कान्छी छोरी हुन्, सोनाली कुमारी सिंह अर्थात् निहारिका । चार जना छोरीहरुको विवाह गर्दा लागेको ऋण निर्मलले अहिलेसम्म तिर्न सकेका छैनन् । निर्मलका बुवा आमाले अंश छुट्टाएर पनि दिएका छैनन् । आर्थिक अवस्था अत्यन्तै कमजोर छ भने उनीहरू भाइको पुरानो घरमा बस्दै आएका छन् । कठिन परिस्थितिमा पनि कान्छी छोरी सोनालीलाई कम्तीमा १२ कक्षासम्म पढाएर प्रहरी बनाउने अठोट उनीहरूले लिएका थिए । तर निहारिकाले त्यो सबै परिश्रम र त्यागलाई अवमूल्यन गरेको निर्मलले सुनाए ।
निहारिकाले एसइईसम्म गाउँमै अध्ययन गरेकी थिइन् । त्यसपछि प्लस टु अध्ययनका लागि निहारिकाको बुवा र आमाले उनलाई जनकपुर पठाएका थिए । छोरीलाई सकेसम्म नेपाल प्रहरीको असई बनाउने उनीहरूको चाहना थियो ।
६ जना छोराछोरीमध्ये कान्छी छोरीका रूपमा निहारिका र त्यसपछि छोराको जन्म भएको थियो । कान्छी छोरी भएको कारणले पनि निहारिकाको मागमा बुवा र आमा नतमस्तक हुन्थे र निहारिकाले मागेको जस्तै गरेका थिए । छोरासरहको ‘स्वतन्त्रता’ दिँदा छोरी ‘बिग्रिएकी’ बुवा निर्मल कुमार सिंहले गुनासो गरे । निहारिकालाई दिएको स्वतन्त्रताको उनले गलत फाइदा उठाएको निर्मलले बताए ।
परिवारले गरिसक्यो निहारिकाको काजक्रिया
निर्मलले हाम्रो टिमसँग भने, ‘मधेस जस्तो स्थानमा पनि उनलाई हामीले छोरी जस्तो व्यवहार कहिले गरेनौँ, छोरालाई जस्तै ‘फ्रिडम’ दियौँ र सहयोग गर्यौँ । उनले जतिबेला जे भनिन्, जस्तो माग गरिन्, हामीले सम्भव भएसम्म पूरा गरिरह्यौँ । तर उनले गाउँ समाज मात्रै नभएर संसार मै हाम्रो बेइज्जत गराइन् । गाउँ समाजमा मुख देखाउन नसक्ने बनाइन् । त्यसैले छोरी मरिसकी भनेर हामीले ९ दिने नौकेस (काजक्रिया) गरिसकेका छौँ । अब उनको बारेमा केही नसोधौँ । उनी हाम्रो लागि मरिसकिन् ।’
निहारिकाको विगतदेखि वर्तमानसम्म उनकै बुवाको शब्दमा:
– निहारिका कक्षा १० सम्म ठिक थिइन् । पछि उच्च शिक्षा हासिल गर्न भनेर हामीले निहारिकलाई पारिवारिक सल्लाहमै जनकपुर पठाएका हौँ । जनकपुर पठाएको केही समय नियमित बिदाको दिन उनको घर आउजाउ भइरहन्थ्यो । उनको जनकपुरमा भइरहेको पढाई–लेखाइको विषयमा पनि परिवारसँग छलफल भइरहन्थ्यो ।
– तर केहीपछि नै मेरो परिवारमा आपत् आइपर्यो । एक दिन मैले उनको आमाबाट थाहा पाएँ कि उनी एक जना पहाडको श्रेष्ठ थर भएको पहाडिया नेवार केटासँग प्रेम सम्बन्धमा रहेकी छिन् भनेर । त्यसको केही समयमै मैले उनी गर्भवती भएको कुरा थाहा पाएँ । त्यो बेला त मेरो माइन्ड नै ब्ल्यांक भयो । तर पनि समाजमा इज्जत जाने डरले मैले यो विषय परिवारमै छलफलमा राखेँ । मेरो ६ जना छोराछोरी छ, तर यसले जतिको पीडा अरू कसैले दिएनन् । हामीले यसलाई धेरै नै सम्झाई बुझाई ग¥यौँ, तर उसले मानिन ।
– निहारिका अकडी स्वभावको थिइन् र जिद्दी गर्थिन् । हामीले उनलाई त्यो केटालाई छाड्न भन्यौँ तर उनले जसरी पनि त्यही केटासँग विवाह गर्ने भनेर जिद्दी गरिरहिन् । हामी परिवारका सबै बसेर छलफल गरी उक्त केटालाई छाड्न र आफ्नै जातको युवकसँग विवाह गराइदिने भन्यौँ । तर उनले म त्यो केटालाई धेरै माया गर्छु र यसैसँग विवाह गर्छु भनिरहिन् । परिवारका सबै मिलेर उनको ब्रेन वास गर्ने कोसिस पनि गर्यौँ । तर उनी टसको मस भइनन् ।
– घरमा कुरा नमिलेपछि उनी घरबाट निस्केर गइन् । लगतै हाम्रो परिवारको सदस्यहरूले उनी बसेको छेउछाउमा खोजबिन गर्यौँ । तर उनी हात बेहात भइसकेकी थिइन् ।
– सुन्नु नपर्ने कुरा सुनेँ, जनकपुर गएर निहारिकाले यतिसम्म बरबाद गर्लिन् भन्ने कुराको भान भएको भए म जिन्दगी जनकपुर पठाउँदैनथें । यसकै चक्करमा मेरो छोरो डिप्रेसनमा गइसक्यो । छोराको पनि पढाई–लेखाई, भविष्य सबै बरबाद भयो ।
– उनले आर्थिक र सामाजिक सबै तवर वाट मेरो परिवारको तहसनहस पारिदिइन् । त्यति सम्झाउँदा पनि उनले हाम्रो कुनै मूल्याङ्कन नै गरिनन्, आफ्नै मन मर्जी गरिरहिन् । निहारिकाकै कारण मेरो एक्लो छोरा गाउँ बस्दैन, सबैले सबै किसिमको कुरा सुनाउँछन् । हामी कहीँको बाँकी रहेनौँ ।
– अब मेरो भन्नु यति मात्रै छ कि, निहारिकासँग साढे दुई वर्ष पहिले नै म र मेरो परिवारको सम्बन्ध कानुनी रूपमा सकिइसक्यो । हामीले उनको नौकेस गरिसकेका छौँ । यस सम्बन्धमा अब कुनै चर्चा गर्नु छैन । यस्ती छोरी कसैको नजन्माउन् ।
निहारिका प्रकरण : के भन्छन् आरोपित शिवराज ?
कुमारी आमाको नामले परिचित सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतले आफूले न्याय नपाएको भन्दै लामो समयसम्म आन्दोलन गरिन् । पटक पटक आन्दोलन गर्दा, न्यायको ढोका ढकढकाउँदा पनि आफूले न्याय नपाएको भन्दै अनसन पनि बसिन् ।
अनसन बस्दा पनि आफूले न्याय नपाएको भन्दै उनले श्रावण २७ गते शुक्रवार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
शिवराजको दाबी : हामी प्रेम सम्बन्धमा थियौँ
निहारिकाले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठले उक्त सम्बन्ध बलात्कार नभएर सहमतिमै भएको दाबी गरेका छन् । उनले भने, ‘हामी डेढ वर्षसम्म रिलेसनशिपमा थियौँ । एक अर्कालाई खुब माया गर्थ्यौँ । निहारिका काठमाडौँबाट जनकपुर आएको बेलामा हामी दिनभर घुमफिर गर्थ्यौँ । उनी साथीको घर जान्थिन् म आफ्नै घर जान्थे ।’
‘त्यति बेला म जागिर खान्थे । जागिरको सिलसिलामा काठमाडौँ गएको बेला म निहारिकाकै रुममा बस्थे । दिनानुदिन हाम्रो प्रेम झाँगिँदै गएको थियो । मसँग हामी घुम्न गएको धेरै तस्बिरहरू पनि छन् तर निहारिकाको गोपनीयताको लागि म सार्वजनिक गर्दिन ।’ उनले भने ।
हाम्रो सम्बन्ध राम्रोसँग अगाडि बढिरहेको थियो । त्यहीँ बेलामा निहारिकाले उसको पेटमा बच्चा रहेको कुरा गरिन् । दुवै जना अस्पताल गएर जाँच गराएको उनले बताए ।
पेटमा बच्चा बसेपछि झगडा सुरु
निहारिका गर्भवती भएपछि उनीहरू बीचमा झगडा सुरु भयो । निहारिका जसरी भए पनि विवाह गरेर बच्चा जन्माउन चाहन्थिन् भने शिवराज बच्चा जन्माउने पक्षमा थिएनन् ।
यहीँ विषयमा उनीहरूबीच झगडा पर्यो । निहारिका जनकपुरको गंगा सागर खोलामा हाम फालिन् तर शिवराज र उनको साथीहरू मिलेर उनको ज्यान बचाए । निहारिकाले पनि शिवराजलाई अत्यन्तै माया गर्ने श्रेष्ठको दाबी छ ।
श्रेष्ठले भने, ‘हाम्रो यो समाजमा विवाह अगाडि नै बच्चा पाउन निकै गाह्रो छ । भोलि हामीले यहीँ समाजमा मिलेर बस्नुपर्छ । अहिले गर्भपतन गरौँ, विवाह पछि बच्चा जन्माउँला भनेर मैले उनलाई धेरै सम्झाए तर उनले मानिनन् । उनले म विरुद्ध उजुरी गरेर १ दिन थुनामा पठाइन् । र पछि आफै निकालिन् ।’
घरेलु हिंसाको उजुरी’
बच्चा जन्माउने या नजन्माउने भन्ने कुरामा विवाद भएपछि निहारिका राजपुतले २०७६ माघ १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरिपाऊँ’ भन्दै निवेदन दिएकी थिइन् ।
उक्त निवेदनमा निहारिकाले आफूलाई श्रीमान् शिवराज श्रेष्ठले हेला गरेको र गर्भपतन गर्न दबाब दिएको भन्दै नारी अस्मितासहित जीवन रक्षाको माग गरेकी थिइन् ।
आफूहरूले विवाह नै गरेको र गर्भवती भएपछि विपक्षी श्रीमानले स्वीकार गर्न नखोजेको कुरा निवेदनमा उल्लेख छ । आफूले विपक्षीलाई छाडेर बस्न सक्ने अवस्था पनि नरहेको कारण विपक्षीकै घरमा बस्ने वातावरण बनाइदिन प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
मेलमिलाप गराई पाउँ भन्दै उजुरी !
त्यसपछि उनले २०७६ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय धनुषामै अर्को निवेदन दिँदै हक अधिकार दिलाई पाउन माग गरिन्।
उक्त निवेदनमा निहारिकाले आफूहरू डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको रहेको बताएकी छिन् भने विवाह कायम गराई पाउन, खान, लगाउन, बस्न र औषधी उपचारसमेतको व्यवस्था गर्न अनुरोध गरेकी छिन् । त्यसको लगत्तै उनले ‘हक अधिकार दिलाइ पाउँ’ भनेर पनि उजुरी गरिन् । श्रेष्ठले परिवारको लहैलहैमा लागेर आफ्नो वास्ता गर्न छाडेको र गर्भपतन गर्न दबाब दिएको उजुरीमा उल्लेख छ ।
प्रहरीमै भयो मेलमिलापको प्रयास !
शिवराज भन्छन्, ‘उजुरी परेपछि हामी दुईजनाको अभिभावकलाई प्रहरीले बोलायो ।’ उक्त छलफलमा ओरेक नेपालको प्रतिनिधि, महिला सेलको प्रहरीहरू, मानवअधिकारको प्रतिनिधिको सहभागी रहेको उनले बताए । उनले भने, ‘छलफलमा हाम्रो विवाह गरिदिने पक्का पक्की भयो । निहारिकाको उमेर २० वर्ष पारी थियो, तर मेरो उमेर १ महिनाले २० वर्ष पुगेको थिएन । त्यहीँ भएर १ महिना केटा र केटीलाई एक अर्कालाई नभेट्ने सहमति गराएर १ महिना पछि भेला हुने सहमतिमा हामी छुट्टियौ ।’ त्यो बिचमा निहारिकाले म विरुद्ध उजुरी गरेर एक दिन हिरासतमा बस्नुपर्यो भोलिपल्टै उनले मलाई त्यहाँबाट निकालिन् ।
त्यहीँ बिचमा हजुरबुवाको निधन
प्रहरी कार्यालयमा छलफल भएपछि उनीहरूलाई एक अर्काबाट टाढा रहन भनिएको थियो । त्यहीँ बिचमा शिवराजको हजुरबुवाको निधन भयो ।
त्यसैले गर्दा उनी निहारिकासँग फोनमा सम्पर्क नभएको बताउँछन् । नेवारी परम्परा अनुसार काजक्रिया गरेपछि उनीहरूको विवाह १ वर्ष रोकिने भयो । निहारिकाले विवाह गर्ने दबाब दिएपछि उनीहरू बीच मनमुटाब सुरु भयो ।
श्रेष्ठले हजुरबुवा बितेको कारण बताउँदै कुनै पनि हालतमा एक वर्ष विवाह गर्न नसक्ने जिद्दी गरे ।
आमा पुगिन् हिरासत
शिवराज र निहारिकाको विवाह रोकिने भएपछि श्रेष्ठको आमा र निहारिकाको बीच सामान्य झगडा भयो । त्यसपश्चात् निहारिकाले आफूलाई पटक पटक धम्की दिएको भन्दै शिवराजको आमा विरुद्ध उजुरी दिइन् । जसको आधारमा शिवराजको आमा जेल पुगिन् ।
त्यसपछि शिवराजको बुबा विरुद्ध पनि निवेदन पर्यो तर उनी पक्राउ भने परेनन् । त्यसपछि शिवराजको बहिनीलाई पनि हिरासतमा पठाउने कोसिस गरेको र उनी नाबालिग भएकोले पक्राउ नपरेको शिवराजको दाबी छ ।
शिवराजले दिए ‘ज्यान सुरक्षा गरिपाऊँ भन्दै निवेदन’
२०७६ साल माघ १२ गते आफ्नो ज्यान सुरक्षा गरिपाऊँ भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा शिवराजले उजुरी दिएका थिए । उनले निहारिकासँग आफू सेल्स मेन भएको मोबाइल पसलमा मोबाइल किन्न आउँदा भेट भएको निवेदनमा उल्लेख गरेका छन्।
विपक्षीले आफू विरुद्ध उजुरी गरेको र अहिले पनि आफू आत्महत्या गर्छु भन्ने, धम्कीसहितको जानकारी पठाउने गरेको र कुनै पनि बेला म माथि गाली गलौच तथा कुटपिट हुनसक्ने भन्ने निवेदनमा उल्लेख छ ।
ट्याटु प्रकरणले विवाद
शिव राज श्रेष्ठको हजुरबुवा बितेकोले प्रहरीले गराइदिएको मेलमिलाप अनुसार उनीहरूको विवाह एक वर्ष पर धकेलियो । यहीँ बिचमा शिवराजको साथीहरूले निहारिकाको बारेमा गलत कुरा सुनाउन थाले ।
उनीहरूले निहारिका अर्कैसँग प्रेममा रहेको कुरा बारम्बार सुनाउने गर्थे । यसैबीचमा निहारिकाको काँधमा भएको ट्याटुले उनीहरूको सम्बन्धमा झन् उत्तारचढाब आयो ।
अनि पर्यो जबरजस्ती करणीको उजुरी ।
सोनाली कुमारी सिंह (निहारिका राजपुत) ले २०७६ साल चैत २ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको जाहेरी दिइन् । २०७६ फागुन १९ गते शिवराज श्रेष्ठले डर धम्की दिई, ललाई फकाई पटक पटक करणी गरेको र करणीबाट आफू गर्भवती भएकाले जबरजस्ती करणीको कसुरमा सजाय गरिपाऊँ भनेको जाहेरीमा उल्लेख छ ।
फरार भए शिवराज
निहारिकाले जवरजस्ती करणीको उजुरी दिएपछि शिवराज सम्पर्कविहीन भए । परिवार र आफन्तको सल्लाह अनुसार उनी लुकेर बसेको स्विकार्छन् । उक्त मुद्दा प्रहरीमा दर्ता भए पनि आरोपित फरार रहेकोले उक्त मुद्दालाई मुल्तबीमा राखियो र २०७७ साल असोज २८ गते जिल्ला अदालत धनुषामा दर्ता गरियो ।
त्यसपछि पहिलो पटक २०७७ चैत २२ गते पेसीमा चढ्यो । पहिले फरार रहेका प्रतिवादी श्रेष्ठ पनि अदालतमा उपस्थित भएर बकपत्र गरे ।
अदालतले शिवराजलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दियो । त्यसपछि २०७८ कात्तिक २९ गतेको पेसी पक्षबाट स्थगित गरियो । पुस ६ र पुस २० गतेको पेसी न्यायाधीश बिदामा बस्दा स्थगित भयो ।
२०७८ माघ ३ गतेको पेसी सूची इजलास नबसी स्थगित भयो भने २०७८ माघ २४ गते आएर उक्त मुद्दामा फैसला भई अभियोग दाबी नपुग्ने ठहर गरियो । न्यायधीस .डा. पर्शुराम भट्टराईको इजलासले उनी विरुद्ध दाबी नपुगेको फैसला गरेपछि शिवराज जेलमुक्त भए ।
शिवराज फरार भएपछि महिला आयोगमा उजुरी
निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको जाहेरी दिएपछि पनि शिवराजसँग सम्बन्ध सुधार गरी पाम भनेर महिला आयोग पनि गुहारेकी थिइन् ।
२०७७ जेठ २३ गते राष्ट्रिय महिला आयोगमा बुझाएको निवेदनमा श्रीमान् शिवराज श्रेष्ठले मानसिक यातना दिएको, विवाह दर्ता नबनाइदिएको र आर्थिक हिंसा गरेको उजुरी गरेकी थिइन् । यो उजुरी उनले प्रहरीमा बलात्कारको जाहेरी दिएको मितिभन्दा २ महिनापछि दिएको केटिएम दैनिकले प्राप्त गरेको कागजातले देखाउँछ ।
५ महिना १८ दिन हिरासतमा बसे शिवराज
अदालतले पुर्पक्षको लागि थुनामा पठाएपछि जिल्ला कारागार सिन्धुलीमा ५ महिना ८ दिन हिरासतमा बसे शिवराज । हिरासतमा बस्दा उनले आफू माथि अन्याय भएको भनेर साथीहरूलाई पटक पटक भने । केटिएम दैनिकसँग सम्पर्कमा आएका शिवराजले भने, ‘मलाई खाँदै नखाएको विष लाग्यो । हिरासतमा मसँगै रहेका साथीहरूलाई पटक पटक म निर्दोष छु भने । कति पटक त रुने र चिच्याउने पनि गरे ।’
‘हिरासतमा रहेका धेरै साथीहरूले मलाई आफ्नो गुनासो पोखे, मैले बुझेअनुसार उनीहरू पनि निर्दोष थिए । तर पनि अदालतले दिएको आदेश अनुसार म हिरासतमा बसे, धेरै साथीहरू बनाए । मैले चिनेका अधिकांश साथीहरू लिभिङ्ग टुगेदर पछि बलात्कारको आरोपमा जेल जीवन भोगिरहेका थिए ।’ श्रेष्ठले भने ।
हामी सबै एकजुट भएर साहस बटुल्थ्यौँ । यहाँबाट बाहिर निस्किएपछि परिवार र समाजले कस्तो व्यवहार गर्ला ? यहाँबाट बाहिर निस्केपछि के कसरी अगाडि बढ्ने भनेर एक अर्कालाई ढाडस दिन्थ्यौँ । भागेर प्रेम विवाह गरेको एक जना साथी पनि बलात्कारको मुद्दा खेपेर जेल जीवन कटाइरहेको पनि पाए ।
२०७८ साल माघ १० गते सम्मानित जिल्ला अदालत, धनुषाले पठाएको पत्रको आधारमा मलाई सफाइ दिइयो ।
बलात्कारको मुद्दामा उनले किन सफाइ पाए ?
निहारिकाले सुरुमा प्रहरीमा मेलमिलाप गरिपाऊँ भनेर दिएको उजुरी, प्रहरीले घटनास्थलमा उठाएको मुचुल्का, निहारिकाको फेरिएको बयान, लिभिङ टुगेरदरमा बसेको र उमेर पुगेको महिला र पुरुषबीच आपसी सहमतिमै यौन सम्बन्ध भएको भन्ने कुराहरूले उनले सफाइ पाएको उल्लेख छ ।
निहारिकाले आफ्नो उमेर १६ वर्ष हो भनेर दाबी गरे पनि उनको नागरिकतामा २० वर्ष पुगेको फैसलाको पूर्णपाठमा उल्लेख छ । निहारिकाले आफ्नो असली नाम सोनाली कुमारी सिंहले २०७६ फागुन १९ गतेको मिति राखेर २०७६ चैत २ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको जाहेरी दिइन् । तर, त्यसपछि २०७७ जेठ २३ गते राष्ट्रिय महिला आयोगमा उनले ‘श्रीमान्’ शिवराज श्रेष्ठविरुद्ध उजुरी गरेकी थिइन् ।
नियमित पेसीमा चढेको मुद्दामा २०७८ माघ २४ गते न्यायाधीश परशुराम भट्टराईले अभियोग दाबी नपुग्ने फैसला सुनाएका थिए फैसलामा उनीहरू प्रेम सम्बन्धमा रहेको, श्रीमान् श्रीमतीकै हैसियतमा बसेको कुरा स्वयम् वादीले स्वीकार गरेको, नाता कायमका लागि निवेदन लेखेको र प्रेमी शिवराज श्रेष्ठलाई छाड्न नसक्ने भनी निवेदनसमेत लेखिसकेको सम्बन्धमा यो जबरजस्ती करणी नभएको फैसलामा उल्लेख छ ।
सफाइ दिएको विरोधमा,अदालतबाहिर निहारिकाको प्रदर्शन
माघ २४ गते श्रेष्ठ रिहा भएपछि २५ गते बलात्कार अभियोग लागेका युवकलाई सफाइ दिएको भन्दै जिल्ला अदालत धनुषा अगाडि निहारिकाले प्रदर्शन गरिन् । उनलाई केही महिला अधिकारकर्मीहरूले पनि साथ दिएका थिए ।
त्यो बेला निहारिकाले आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर स्वीकार नगरेको र गर्भ फाल्न दबाब दिएको भन्दै आन्दोलन गरेकी थिइन् ।
काठमाडौँमा विभिन्न समयमा अनसन र आन्दोलन
देशको राजधानी काठमाडौँमा पनि उनले विभिन्न समयमा आन्दोलन गरिरहिन् । आफ्नो माग पुरा नभएको भन्दै उनले पटक-पटक अनसन बसेर आन्दोलन गरिन् । डेढ वर्षको बच्चा च्यापेर भौँतारिरहेका ‘कुमारी आमा’ भनेर उनले धेरैको सहानुभूति बटुलिन् । उनले शिवराजसँग आफ्नो छोराको डिएनए टेस्ट गराउनु पर्ने माग राखेर आन्दोलन र अनसन बसिन् ।
मधेस सरकारले गर्यो आर्थिक सहयोग
न्यायका लागि सङ्घर्षरत निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले भदौ १० गते आर्थिक सहयोग दिने निर्णय गरेको थियो । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपुतलाई कानुनी लडाइँका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको थियो । तर नगद दिइएको छैन।
शिवराजको अन्तर्वार्ताले ल्याएको तरङ्ग
निहारिकाले श्रावण २७ गते शुक्रवार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि उनको न्यायको लागि सामाजिक सञ्जाल एकाएक भरियो । #JusticeForNiharika को चर्को आवाज उठ्यो । यसैक्रममा धेरै मिडियाले आरोपित शिवराज श्रेष्ठसँग कुरा गर्न चाहेका थिए ।
त्यसै क्रममा उनले एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिए । उनले अन्तर्वार्तामा आफू बच्चाको बुवा नभएको दाबी गरे । त्यसपछि पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातियो ।
पुन:पक्राउ परे शिवराज
काठमाडौँको माइतीघर मण्डला र बसन्तपुरमा आमरण अनशनमा बसेकी निहारिकाले राष्ट्रपति कार्यालयबाहिर आत्मदाह प्रयास गरेकी थिइन् । त्यसको केहीदिन पछि निहारिकाको अनसन तोडाउनको लागि प्रहरीले अभद्र व्यवहार गरेको मुद्दामा शिवराजलाई २२ दिन हिरासतमा राख्यो । उनी हिरासतमा रहेकै बेलामा डिएनए टेस्ट गर्न उच्च अदालत जनकपुरको आदेश आएको थियो ।
डिएनए टेस्ट गर्न उच्च अदालत जनकपुरको आदेश
भदौ ८ गते बुधवार उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र आरोपी शिवराज श्रेष्ठको डिएनए टेस्ट गर्न आदेश दियो । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले सरकारी वकिलको माग बमोजिम निहारिकाको बच्चा र आरोपी शिवराज श्रेष्ठको डिएनए टेस्ट गर्न आदेश दिएको थियो ।
कात्तिक १८ गते निहारिका सिंह राजपुतका छोराको डिएनए आरोपी शिवराज श्रेष्ठसँग मिल्यो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको डिएनए परीक्षणमा श्रेष्ठको डिएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको रिपोर्ट आएको छ ।
करिश्माको विरोध
सुरुमा छोरी सहर पाल्छु भनेर आफ्नो घर लगेकी करिश्माले पछि निहारिका र शिवराजको तस्बिरहरू सार्वजनिक गरिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन ।
निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे ! निहारिका ! आमा, बुवासँग माफी माग । बच्चालाई सर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुख नदेऊ ।
कत्ति नाबालिग जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि ? तर सधैँ सत्य को साथमा छु । यो सब हेरे पछि के गरूँ म ?‘
उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भयो । पछि करिश्माले माफी मागिन् भने करिश्माले दिएको पैसा निहारिकाले फिर्ता गरिन् ।
शिवराज भन्छन्, ‘मानसिक तनावमा छु’
आरोपित शिवराज श्रेष्ठ आफू मानसिक तनावमा रहेको बताउँछन् । ‘घरमा काम गर्ने एक जना बुवा मात्र हो । आर्थिक स्थिति पनि त्यति राम्रो छैन । मैले केही काम गर्न मिलेकै छैन । म जहाँ काम गर्न गए पनि निहारिकाले ‘मलाई बलात्कार गर्ने मान्छे तपाईँको अफिसमा काम गरिरहेको छ भनेर उजुरी गर्छिन् ।’ अफिसले मलाई ननिकाले अफिस अगाडि नै आएर धर्ना दिने धम्की दिन्छिन् । मैले जागिर पनि खान पाएको छैन ।’ श्रेष्ठले भने ।
मानसिक तनावले गर्दा पढ्न पनि सकेको छैन । म सँगैको साथीले एमबिए सके । म भर्खरै बिबिएस प्रथम वर्षमा भर्ना भएको छु।
मैले मेरो हरेक गल्तीको प्रायश्चित गरेको छु । जेल जीवन पनि भोगे, अब राम्रोसँग बस्न चाहन्छु उनले भने । उच्च अदालते यो प्रकरणको फैसला मङ्सिर १४ गते गर्दै छ । -केटिएमदैनिकबाट
निहारिकाका बुवा भन्छन्, ‘यस्ती छोरी कसैको नहुन्’
https://ktmdainik.com/2022/11/149772/?fbclid=IwAR38_bXOVZELB2OtHIDKFxBF5s0v_4PCxT5h2boHOyv2AXZOmmf4lwDp0T0