
जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताएका छन्।
धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको आइतबार नगराईनमा उद्घाटन गर्दै निधिले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउने पनि दाबी गरे। भने, “अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत नपाउँदा कम्युनिस्टको सरकार बन्यो, तीन वर्षभित्रै कम्युनिस्ट सरकारले मुलुकलाई सधैं अस्थिर बनाउँदै तहसनहस पारेको अवस्था छ, त्यसैले कांग्रेसको एकल सरकार बनाउन म सभापति बन्न चाहेका हुँ।”
निधिले आफूले नेतृत्व पाए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने पनि दाबी गरे।
संविधानले अधिकार सुनिश्चित गरे पनि प्रदेशले अधिकार पाउन नसकेको भन्दै प्रदेशको अधिकार सुनिश्चित गराउन पनि आफूले सभापतिमा उम्मेदवारी दिएको उनको भनाइ थियो। भने, “संविधानले प्रदेश प्रहरीको व्यवस्था गरेको छ, निजामती सेवाको अधिकार दिएको छ। तर यी सबै अधिकार प्रदेशले प्रयोग गर्न पाइरहेका छैनन्, प्रदेशको अधिकार सुनिश्चित गर्नतर्फ अहिलेसम्म कसैले ध्यान दिनसकेको छैन। त्यसका लागि पनि म सभापति बन्न चाहेको छु।”
मधेशी, दलित, जनजाति, मुस्लिमलगायत उत्पीडित वर्गको अधिकार सुरक्षित गर्न संविधान संशोधन हुनुपर्नेमा पनि उपसभापति निधिले जोड दिए।