औरही(महोत्तरी)- औरही नगरपालिकाकाे अतिक्रमित जग्गाहरु खाली गराइएको छ। औरही नगरपालिका वडा नं १ मा लाग्ने औरही बजारमा सहित नगरपालिकाकाे सबै वडामा बुधवार देखि नगर प्रहरी खटाई अतिक्रमण गरेर राखेको पसल र घर टहराहरु खाली गर्न लगाइएको नगरप्रमुख प्रदिप कुमार खड्काले जानकारी दिए ।
नगर प्रमुख खड्काले बजारमा किनमेल गर्न आउने सर्वसाधारणहरूलाई आवात जावत मै समस्या उत्पन्न हुने गरी जथाभावी बनाइएका घर, पसल टहराहरुलाई खाली गर्न नगर प्रहरी खटाइएको बताए । औरही बजारका कपडा,किराना, साइकलका व्यापारीहरूले आफ्नो पसल बाहेक व्यापार बढाउन सडकपेटी अतिक्रमण गरेको नगरप्रमुख खड्काले बताए । सडकपेटी अतिक्रमण गर्दा सर्वसाधारण देखि व्यापारीहरू पनि मर्कामा पर्ने उनले बताए ।




यस्तो चाडपर्वको बेला बजारमा भीडभाडमा पैदल यात्रुलाई हिडन अप्ठयारो हुने सडकखण्डमा आपतकालिन वारुणयन्त्र, एम्बुलेन्स आउने समस्या देखिएकोले समयमा सचेत हुन व्यापारीहरूसंग आग्रह गरिएको उनले बताए । व्यापारीहरूले बिहानै पसल खोलिरहेको आवस्थामा अनुगमनको क्रममा नगरप्रमुख खड्काले सम्पुर्ण व्यापारीहरूलाई अहिले देखी नै सडक पेटी खाली गर्नु पर्ने बताए ।

यसरी सडक पेटी खाली गर्न र सडक अतिक्रमण गरी बनाइएको घर टहराहरु हटाउन भनि नगरपालिकाले कार्तिक १७ गते सुचना जारी गरेका थिए । सुचनालाई वेवास्ता गरिएपछि नगरपालिकाले आफै सडक पेटी खाली गराउने अभियान सुरु गरेको नगरप्रमुख खड्काले बताए ।













