जनकपुरधाम- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल संचालन तयारी भईरहेको र यसै वर्षभित्र रेल सञ्चालनमा आउने दाबी गरेकी छन् ।
आज मंगलबार जयनगर-जनकपुरधाम रेल्वेको ट्रयाक निरीक्षण गर्दै मन्त्री यादवले नेपाली जनताको चाहनाअनुरूप चाँडै रेल सञ्चालनमा ल्याउने आफूहरूको योजना रहेको बताइन् ।
नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानून अभाव लगायतका कारणले २०७७ असोज २ गते भारतबाट जनकपुरधाम ल्याइएपछि थन्काइएर राखिएको अवस्थामा मन्त्री यादवले यसै वर्षभित्र रेल सञ्चालनमा आउने दाबी गरेकी हुन् ।
उनले कानुन अभावका कारण रेल सञ्चालनमा आउन नसके पनि सबै प्रक्रिया पूरा गरेर यसै वर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छन् । उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भइसकेको र चाँडै नै सदनमा पेश गरिने बताईन् ।
उनले अध्यादेश एक साताभित्र मन्त्री परिषदबाट पारित गरेर अन्य व्यवस्थापन मिलाएर जति सक्दो चाँडो रेल चढ्ने जनताको चाहना पुरा गर्नका लागि सरकार लागि परेको बताइन् ।
उनले जनकपुर जयनगर रेल सञ्चालनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मा सबै प्रकारको सहयोग गर्नका लागि तयार रहेकोले रेलको उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीले कोभिडका कारणले प्रत्यक्ष नभए पनि भर्चुअल माध्यमले भए पनि गर्ने बताइन् ।
उनले रेल सञ्चालनका लागि अध्यादेश मार्फत कानून बनेपछि कर्मचारीहरूका लागि १५ दिनको प्रशिक्षण तथा सामान्य मरम्मत एवं थन्केर बसेको रेल्वेको प्राविधिक परीक्षण पछि सञ्चालन गर्नमा कुनै समस्या नभएको बताइन् ।
यातायात मन्त्री यादवले यसै रेलको विस्तार गरेर निजगढसम्म बनाई निकट भविष्यमा नै तराई मधेशलाई राजधानी काठमाडौँलाई रेलमार्ग सँग जोड्ने पक्षमा नेपाल सरकार रहेको र सो विषयमा कामकाज भइरहेको जानकारी दिइन् ।
उनले विवाह पञ्चमीमा रेल सञ्चालन गर्ने अवस्था नभए पनि चाडै सञ्चालन गर्ने पक्षमा सरकार लागि परेको बताइन् ।
उनले ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र यसको लागि कर्मचारीको व्यवस्था गर्न लागेको समेत जनाईन् । उनले भनिन्, ‘ठ्याक्कै यही मिति देखि रेल संचालन हुने भन्न नसकिए पनि यस वर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको छ।’ उनले भारतीय सीमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूणर् प्राविधिक तयारी पूरा गरेको जानकारी दिईन् ।
साथै उनले रेल लिक महोत्तरीको बर्दिवाससम्म जोड्ने र पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि त्यहाँ रेल्वे सवस्टेशनको मुख्य जक्सन निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।
उनले केही कागजी प्रक्रियाहरू बाँकी रहेकोले त्यसको तयारीपश्चात् चाँडै दुबै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गराइने दाबी गरिन् ।
रेल्वेका महाप्रबन्धक नीरञ्जन झाले १ हजार २५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर-बर्दिबास रेल्वे सडकखण्डमध्ये ६२३ करोड लागतमा निर्माण गरिएको जयनगर-कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।
उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानूर र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ति सबै प्रक्रियाहरू चाँडै पूरा गरिने दावी गरे ।
महाप्रबन्धक झाले भने, ‘हामीले भारतीय कम्पनी केआरसिएललाई इनर्वामा विगत १४ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेका छौँ ।’
उनले अगाडि भने, ‘केआरसिएलले प्राविधिक रिपोर्ट तयार पारेर हामीलाई जिम्मा लगाएपछि मात्रै रेल गुडाउने मिति सम्बन्धमा औपचारिक जानकारी दिन सक्छौं ।’
जयनगर-कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल जनकपुरधाम भित्र्याइए पनि संचालन नभएपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिका स्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।
निरीक्षणमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ सहितका व्यक्तिहरू उपस्थित रहेका थिए ।
राणा शासनका बेला बिसं १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म नेपालको पहिलो रेल सेवा सञ्चालन गरिएको थियो। शुरूआतमा तत्कालीन ब्रिटिश शासकले नेपालका जंगलको काठ ओसार्ने उद्देश्यले रेल सेवा शुरू गरेको मानिन्छ।
त्यतिबेला जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगरसम्मको ५२ किमि दूरीमा सञ्चालन थियो। विसं २०५९ मा आएको बाढीबाट बिगही पुल बगाएपछि नेपालको पहिलो रेल सेवा जनकपुरदेखि जयनगरको जम्मा २९ किमिमा सीमित थियो।
अहिले चर्चामा रहेको जयनगरबाट जनकपुरमम्मकै खण्डमा भने विसं १९९४ मा मात्रै रेल आइपुगेको हो। त्यतिबेला सञ्चालमा आएको रेल पनि न्यारोगेज कै थियो भने अहिले ब्रोडगेजको रेल सञ्चालमा आएको छ।
विसं २०५९ सम्म सञ्चालमा आएको रेलको खण्ड र पुल बाढीले बगाएपछि भने त्यसयता नेपालमा रेल सेवा बन्द थियो। अहिले तय भएको रेल सञ्चालनको ६९ किमिमध्ये तीन किमि भारतीय भूमिमा पर्छ।
रेल्वेलाई व्यवस्थित गर्न विसं २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो थियो भने विसं २०२५ सालदेखि भने यसको नाम जनकपुर-जयनगर रेल्वे भएको थियो। विसं २०६१ मा यसलाई नेपाल रेल्वे बनाइएको हो।
नेपालमा रेल सेवालाई विश्वसनिय र भरपर्दो यातायातको साधन बनाउने उद्देश्यले १ असार २०६८ देखि भने रेल विभागको स्थपना गरेर रेलमार्ग निर्माणमा विभिन्न क्षेत्रमा काम भइरहेको छ।