जनकपुरधाम।बलात्कार घटनाका दुई जना फरार आरोपितलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार पक्राउ पर्नेमा धनुषाको बिदेह नगरपालिका ४, ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र ३२ वर्षीय अरुणकुमार महरा रहेका छन् । उनिहरुले गाउँकै एक १६ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए ।
पक्राउ परेकामध्ये जितेन्द्रलाई तीन दिन अघि जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पीडित पक्षको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी बस्नेतले जनाए । उनले पक्राउ परेकाहरुलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको बताए ।
आरोपित जितेन्द्र र अरुणमाथि पीडित बालिकाकी सानीआमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका थिए ।
उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौक स्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबर्जस्ती करणी गरेको आरोप छ ।
बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गते कै दिन प्रहरीमा उनीहरु विरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले भने । बालिकाकी आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताएका छन् ।




