महोत्तरी - मिथिला मध्यमा परिक्रमा यात्रीहरुको स्वागतका लागि महोत्तरीको भंगहा नगरपालिकाले नगरभित्र सोमवार सार्वजनिक बिदा दिएको छ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत सातौं दिन भंगहा–९ स्थित कञ्चनवनमा परिक्रमा यात्रीको टोली पुग्नेभएपछि स्वागतमा सार्वजनिक विदा दिइएको हो ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन सोमवार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव कुमार साहले जानकारी दिए । सोमवार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवाबाहेक),विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ । कञ्चनवनमा प्रत्येक वर्ष ‘कञ्चनवन होली महोत्सव’को आयोजना हुँदै आएको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । यस अघि महोत्तरीकै मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो ।