जनकपुरधाम। जनकपुरधाममा राम जानकी विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामजानकी कै विवाह मण्डपमा एकै साथ २२ जोडीको सामुहिक विवाह सम्पन्न भएको छ।
एकैनाशको कुर्ता सुर्वाल र वैवाहिक माला लगाएर सजिएका युवाहरुको समुह जनकपुरधामको डिहवार थान देखि जानकी मन्दिर र रामन्दिर सहितका मठ मन्दिरहरुमा दर्शन गर्दै हिडेको देखे पछि सबैको नजर तानिएको थियो ।पछि उनिहरु सबैको सामुहिक विवाह रहेको बुझियो ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधामलाई म्यारेज डेस्टिनेशनको रुपमा प्रचार प्रसार गर्न र दहेज प्रथा सहित तराई मधेश र मिथिलाको विवाहमा हुने अत्याधिक खर्च नियन्त्रणका लागि सामुहिक विवाहको अभियान थालिएको हो ।



सामुहिक विवाहका आयोजक बिश्व हिन्दु परिषद नेपालले ५१ जोडी लक्ष्य लिइएपनि २२ जोडी युवायुवतीहरु सम्पर्कमा आएपछि उनीहरुको सामुहिक विवाह गरिएको परिषदका महासचिव जितेन्द्र सिंहले बताए ।
भगवान रामजानकीको विवाह सम्पन्न भएको भोली पल्ट जानकी मन्दिरको प्राङ्गणमा रहेको सोहि मञ्च र मण्डपमा उक्त २२ जोडीको स्वयंवर र विवाह भएको दृश्य स्थानिय र दर्शनालुहरुका लागि रोचक थियो ।
सामुहिक विवाह अभियानले जनकपुरधामलाई बिश्वमै उत्कृष्ट एवं उतम वैवाहिक गन्तब्यका रुपमा प्रचार प्रसार हुने, तराई मधेशको दहेज प्रथा उन्मुलन हुने र हिन्दु धर्म माथी लाग्ने गरेको छुवाछुतको गलत आरोपलाई स्पष्ट गर्ने आयोजक परिषदको तर्क छ ।
सामुहिक विवाहमा अन्तरजातिय जोडी, मधेशी र पहाडी अनुहारका जोडीहरु त थिए नै उनका माता पिता सहित पारिवारिका अन्य सदस्यहरु समेतको उपस्थितीले विवाहलाई मंगलमय र उत्साहित बनाइरहेको थियो ।
बेहुली मध्येकी सृजना रजक र निरा कुमारी रायले माता जानकीको विवाह भएको मञ्च र मण्डपमा आफुहरु विवाह गर्न पाउँदा औधी खुसी लागेको बताइन । उनले आफुहरु अन्तर जातिय विवाह गरेको बताइन् ।
बेहुला बेहुलीका लागि परिषदले विवाहमा आवयश्क सबै समानहरु समेत व्यवस्था गरिदिएको हो । बेहुलीलाई बस्त्र, मंगलसुत्र देखि बेहुलालाई पनि कपडा र ओछयानका सरसमानहरु समेत परिषदको तर्फबाट प्रदान गरिएको छ ।
बेहुला रामु राणा मगर सहितका युवाहरु परिषदको अभियानलाई सराहनीय बताउछन् । प्रत्येक एक जोडीमा ५१ हजार खर्च भएकोमा बेहुला र बेहुली दुवैपक्षका २५÷२५ जनाको सहभागिता हुने गरि उनीहरुको खाना र बस्ने सुविधाको व्यवस्थादेखि सवैको सहभागितामा २२ जोडी बेहुलाबेहुलीलाई सजाएर बाजागाजा सहित धुमधामका साथ जनकपुरधामको नगरपरिक्रमा समेत गराइएको छ ।
विवाहको खर्च परिषद सहित स्थानिय दाताहरुको सहयोगमा व्यवस्थापन गरिएको जनाइएको छ ।




