महोत्तरी – महोत्तरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । महोत्तरी जिल्ला खेलकुद विकास समिति जलेश्वरको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
जलेश्वरस्थित रंगशालामा आयोजित प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहबाट सात सयभन्दा बढी खेलाडी सहभागी भएका थिए । प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो तथा कबड्डीलगायत खेल समावेश गरिएको थियो ।




एथलेटिक्सतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर तथा ३००० मिटर दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, रिले दौड तथा जेभलिन थ्रो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।प्रतियोगिताको उद्घाटन महोत्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सत्येन्द्र यादवको अध्यक्षतामा भएको थियो । उद्घाटन समारोहमा नौ वर्षीय टेबलटेनिस खेलाडी सामर्थ्य गुप्तालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो ।
नेपालमै पहिलो पटक खेलाडीलाई प्रमुख अतिथि बनाएर प्रतियोगिता उद्घाटन गरिएको आयोजकको दाबी छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बर्दिबास नगरपालिका प्रथम हुँदै २०८३ सालको राष्ट्रपति रनिङ शिल्ड उपाधि जित्न सफल भएको छ । त्यसैगरी, औरही नगरपालिका दोस्रो तथा गौशाला नगरपालिका तेस्रो भएको छ । विजेता टोलीलाई महोत्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यादवले शिल्ड प्रदान गर्नुभयो ।

प्रतियोगिताको सफल आयोजनामा शिक्षक, प्रशिक्षक, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा दर्शकको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पूर्वमुख्यमन्त्री सरोज यादव, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि, सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधि, पूर्वअध्यक्ष तथा खेल सङ्घका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा वक्ताहरूले जिल्लामा खेलकुद प्रतिभाको पहिचान, विकास तथा युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण खेलप्रेमी, शिक्षक, प्रशिक्षक, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दर्शक तथा खेलाडीप्रति धन्यवाद ज्ञापन गरेको छ ।




