
ढल्केवर, धनुषा
नेपाल प्रहरीले सोमबार विभिन्न स्थानमा बहुविवाह, लागू औषध र साइबर सुरक्षासम्बन्धि सचेतनामूलक कार्यक्रम गरेका छन् ।
धनुषाको बिदेह नगरपालिका ४, ढाडीमा नेपाल प्रहरीले बहुविवाह सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । सोमबार ढाडीस्थित प्रहरी चौकीको आयोजनामा बहुविवाह सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी स्थानीयवासीलाई ढाडीस्थित प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक सीताराम चौधरीले बहुविवाह कानूनीरुपमा अपराध भएको र कानूनले बर्जित गरेको बिषयबारे जानकारी गराउनुभयो ।
नयाँ कानुनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने र कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि समेत अयोग्य हुने कानूनी प्रावधान रहेको सहभागीलाई जानकारी दिनुभयो ।
दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको बारे उपस्थितलाई जानकारी दिँदै बहुविवाह नगर्न नगराउन बताउनुभयो । यस्तो गरे कानूनी कारवाहीको भागिदार बन्ने पनि जानकारी गराउनुभएको थियो ।
नेपाल प्रहरीको सचेतनासम्बन्धी नियमिति कार्यक्रमअन्तर्गत यो कार्यक्रम गरिएको छ । कार्यक्रमले समाजमा हुने बहुविवाह, बालविवाह, महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रसनी चौधरीले बताउनुभयो ।कार्यक्रममा बिदेह नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बिनोद गोहितमानसहित ५० जनाको उपस्थित थियो ।
यसैगरी इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा लागू औषध र साइबर सुरक्षासम्बन्धि सचेतना कार्यक्रम गरेका छन् । प्रहरी हवल्दार राजु खानले सञ्चालन गरेको सो कार्यक्रममा कक्षा १० का विद्यार्थीको बाक्लो उपस्थित थियो ।
