
जनकपुरधाम- वनक्षेत्रको अभाव र चुरे क्षेत्रको तीव्र विनाशलाई ध्यानमा राख्दै मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षलाई वृक्षारोपण विशेष अभियानको रूपमा अघि सारेको छ । अभियान अन्तर्गत कुल ८६ लाख बिरुवा उत्पादन गरी संरक्षणसहित विभिन्न स्थानहरूमा रोप्ने तयारी गरिएको छ ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार जनकपुर–ढल्केवर सडक खण्डको दुवै किनारामा ४ हजार ४ सय बिरुवा रोप्ने कार्य सुरु भइसकेको छ । जनकपुरधाम प्रवेश गर्ने राष्ट्रिय तथा व्यापारिक मार्गमा हरियाली विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सो अभियान अघि बढाइएको हो ।
वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले दिएको जानकारीअनुसार ५० किलोमिटर सडक पेटी र २७८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिनेछ । सडक पेटीमा मात्र ४ लाख बिरुवा रोप्ने लक्ष्य छ भने बाँकी बिरुवाहरू निजी र सार्वजनिक क्षेत्रहरूमा लगाइनेछ ।
६२ लाख बिरुवा प्रदेश सरकारले आफ्नै बजेटबाट उत्पादन गरिरहेको छ भने बाँकी संघीय सरकारको सशर्त अनुदानमार्फत उत्पादन भइरहेको छ । बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क वितरण गरिनेछ ।
मन्त्रालयका अनुसार उत्पादन भएका बिरुवामध्ये ८ प्रतिशत मात्र सरकारी वन क्षेत्र वा डिभिजन वन कार्यालयको मातहत रहेका क्षेत्रहरूमा रोपिने छन् । बाँकी ८० देखि ९० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने व्यवस्था गरिएको छ । यसबाट वन क्षेत्र विस्तार, भूमि कटान रोकथाम र पर्यावरणीय सन्तुलन कायम गर्न योगदान पुग्ने सरकारको विश्वास छ ।
प्रदेश सरकारले नागरिकलाई यो अभियानमा सहभागिता जनाउन आग्रह गर्दै वृक्षारोपणलाई सामाजिक अभियानका रूपमा रूपान्तरण गर्न स्थानीय तह र समुदायसँग सहकार्य गर्ने रणनीति अपनाएको छ ।