ढल्केवर, धनुषा
जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले ‘बुथ–बुथ मजबुत’ अभियान चलाउने निर्णय गरेको छ । धनुषाको ढल्केवरमा बुधबार सम्पन्न जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।
आउँदो चुनाबमा बढीभन्दा बढी उम्मेदवारलाई विजयी सुनिश्चित गराउन ‘बुथ–बुथ मजबुत’ अभियान चालउने निर्णय गरेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले भन्नुभयो ।
‘बुथ–बुथ’ अभियानअन्तर्गत वडा, पालिका, प्रदेश र प्रतिनिधि चुनाव क्षेत्रलाई लक्षित गरी सङ्गठन मजबूत बनाउने, कार्यकर्तालाई प्रशिक्षण दिने र चुनाव जित्ने रणनीतिका बिषयमा कार्यक्रम सञ्चालन गर्ने उहाँले भन्नुभयो ।
यसैगरी चुनावमा उम्मेदवारी दिने उम्मेदवारले पार्टीले तोकेको रकम देखाउनुपर्ने निर्णय समेत विस्तारित बैठकले गरेको छ । वडा अध्यक्षका उम्मेदवारले एक लाख पच्चिस हजार, नगर प्रमुखका उम्मेदवारले नगरभित्र पर्ने प्रत्येक वडाको गणना गरी एक लाख पच्चिस हजारको दरले, प्रदेश सभाका उम्मेदवारले २५ लाख र प्रतिनिधि सभाका उम्मेदवारले ५० लाख रुपैयाँ चुनावमा खर्च गर्न आफूसँग रहेको भनी पार्टीलाई विश्वास दिलाउनुपर्र्ने प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष विपी साहले जानकारी दिनुभयो ।
सो रकम उम्मेदवार चुनावको प्रचार–प्रसार, सङ्गठन निर्माणलगायत निर्वाचन आचारसंहिताले तोकेको दायरामा मात्र खर्च गर्न बाहेक मतदातामा पैसा बाँड्न नपाइने उहाँले बताउनुभयो ।
‘बुथ–बुथ मजबुत’ अभियानले पार्टीलाई फाइदा पुग्ने हुँदा मधेशका २५ सयभन्दा बढी वडास्तरमा यो अभियान चलाउन लागेको प्रेस जनमत सङघका केन्द्रीय अध्यक्ष साहले भन्नुभयो ।