जनकपुरधाम- मतदाता नामावली संकलन समयावधि बढाउनु पर्ने माग चौतर्फी रुपमा उठेको छ। निर्वाचन आयोगले मतदाता नामावली संकलनको लागि एउटा केन्द्रको लागि १५ दिन समय सीमा निर्धारण गरेको छ। तर उक्त समय सीमा भित्र सम्पूर्ण नयाँ मतदाताहरुको नामावली संकलन गर्न नसकिने देखिएपछि धनुषामा मतदाता नामावली सङ्कलन कार्यको समयावधि बढाउन माग बढ्न थालेको हो ।
निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहमध्ये ६३७ स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । सोही अनुरुप धनुषाको पनि पालिका स्तरमा मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्कलन भइरहेको छ ।मंसिर १७ देखि आगामी पुष २ गतेसम्म १५ दिनका लागि सञ्चालन भएको पहिलो चरणको कार्यक्रममा जिल्लाको मिथिला, कमला, क्षीरेश्वरनाथ, विदेही, मिथिला विहारी, सबैला, धनुषाधाम नगरपालिका तथा औरही गाउँपालिकामा गरी आठ वटा पालिका मतदाता नामावली सकलन गर्ने कार्यक्रम भइरहेको छ ।
मतदाता नामावली संकलन सुरु भएको शुक्रवार १५ दिन बितिसक्दा पनि केन्द्रहरुमा भिडभाड कम भएको छैन । ३ देखि ४ घण्टासम्म लाइनमा बस्दा पनि पालो नआएको मतदाता परिचयपत्र बनाउने आउने सेवाग्राहीको गुनासो छ । निर्वाचन आयोगले एक थान कम्प्यूटर उपकरण, एक जना प्राविधिक र सम्बन्धित पालिकाबाट तीन जना सहयागी लिएर मतदाता नामावली संकलन गरिरहेको छ ।
तर त्यो प्रयाप्त नभएकोले थप उपकरण र प्राविधिक थप्नुुपर्यो कि त एक साताको सयमावधि बढाउनु पर्यो,‘ सेवाग्राहीहरुले बताए।
तराइका जिल्लामा जनसङ्ख्या बढी छ । जसले गर्दा नयाँ मतदाता नामावलीमा नाम उल्लेख गराउनेको संख्या बढ्नु स्वभाविक भएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका सीतेश झाले जानकारी दिए । छुटेकाहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर नामावली टिपाउन सकिने व्यवस्था भएपनि ग्रामीण तथा सवारीसाधनको सुविधा नपुगेको स्थानका वासीलाई समस्या हुने झाले बताए ।
मिथिला नगरपालिकाको मतदाता नामावली केन्द्रका प्राविधिक सञ्जीव घिमिरेले फोटोसहित औंलाहरुको विद्युतीय छाप लिनुपर्दा १० देखि १५ मिनट समय लाग्ने हुँदा एकदिनमा मुश्किलले ७० देखि ८० जनाको नामावली संकलन गर्न सकिरहेको जानकारी दिए।
प्रदेश २ निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले १५ दिनसम्म स्थानीय केन्द्रहरुबाट नामावली संकलन गरिने र त्यहाँ छुटेकाहरुले आयोगका जिल्ला कार्यालयमा आएर नामावली उल्लेख गराउन सकिने बताए । उनले समयअवधि बढाउने सम्बन्धमा केन्द्रीय निर्वाचन आयोगको निणर्यमा भरपर्ने बिषय भएको भए।
जिल्लाका १८ वटा पालिकामध्ये १६ वटा स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन भइरहेको आयोगका प्रमुख पुष्पा झाले जानकारी दिए।
मंसिर १७ देखि पुष २ गतेसम्म पहिलो चरणमा आठ वटा पालिका र आगामी पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुने दोस्रो चरणमा बटेश्वर, जनकनन्दिनी, लक्ष्मीनिया, मुखियापट्टी मुसहरनीया र धनौजी गाउँपालिका तथा हंसपुर, गणेशमान चारनाथ र नगराइन नगरपालिकामा नामावली संकलन गरिनेछ ।
जिल्लाका बाँकी दुई स्थानीय तह जनकपुरधाम उपमहानगरपालिका र सहिदनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय मार्फत नियमित रूपमा मतदाता नामावली संकलन भइरहेको प्रदेश निर्वाचन आयोगको कार्यालयका प्रमुख पुष्पा झाले जनाए।
१८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिरहेको छ ।