जनकपुरधाम- धनुषामा एक भारतीय गाडीमा गाजा तस्करहरु फिल्मी शैलीमा प्रहरीलाई छलेर भाग्न खोज्दा दुर्घटना भएको छ । दुर्घटना पश्चात एक भारतीय नागरीकलाई लागु औषध गाजा सहित पक्राउ गरिएको छ।




शनिवार राती बिआर ३२के ९१२७ नम्बरको स्कार्पियोमा सवार पाँचजना शंकास्पद व्यक्तिहरु महोत्तरीको बर्दिवासबाट ढल्केवर तर्फ आइरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर प्रदिप सुवेदीको कमाण्डमा ढल्केवरमा चेकजाँचमा खटिएको थियो

सोहि क्रममा पाँचजना सवार रहेको उक्त स्कार्पियोलाई ढल्केवर चेकप्वाइन्टमा चेकजाँचका लागि रोक्न खोज्दा उनिहरुले प्रहरीलाई छलेर गाडी जनकपुर तर्फ कुदाएका थिए । गाडी नरोकी भागेपछि प्रहरी टोलीले उक्त गाडीलाई पीछा गर्न थाले । प्रहरीले उनीहरुलाई पीछा गरेको देखेर गाडीबाटै गाँजा भएको प्लाष्टिकको बोरा फालेर तीव्र गतिमा भाग्न खोज्दा उक्त स्कार्पियो नक्टाझिज स्थित बसही खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको इन्स्पेक्टर सुवेदीले जनाए ।
इन्स्पेक्टर सुवेदीका अनुसार दुर्घटना हुनासाथ गाडीमा सवार पाँचैजना गाडीबाट कुदेर खेततीर भागेका थिए ।
प्रहरी टोलीले गाडीबाट फ्याकेका गाजाको ४ पोकालाई नियन्त्रणमा लिई भाग्नेहरुलाई खोजतलास गर्दा उखु घारीमा लुकेर बसेका एकजनालाई पक्राउ गर्न सफल भएको र अन्य व्यक्तिहरु फरार इन्स्पेक्टर सुवेदीले जनाए ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत वडा नं ४ बस्ने २२ वर्षीय विजय कुमार महतो रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार गाडीबाट फालेको पोकाबाट करिब २० केजी गाँजा बरामद भएको छ ।

पक्राउ परेका महतो र उनीहरु सवार गाडी समेत प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।




