धनुषा- नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको प्रदेश २ को प्रदेश अधिवेशन अन्तर्गत जारी रहेको मतदानमा साँझ ७ बजेसम्ममा १ हजार ७ सय ९६ जनाले मतदान गर्नु भएको छ ।
बिहान ९ः४५ बजेबाट शुरु भएको मतदान कार्यलाई व्यवस्थित बनाएका कारणले १० बजेसम्ममा मतदान सम्पन्न हुने अनुमान निर्वाचन समितिले गरेको समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभएको छ ।
मतपत्र छपाउन ढिलाइ भएका कारणले बिहान दुई घण्टा ढिलो गरी मतदान शुरु भएको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाका साथ मतदान कार्यक्रम भइरहेको छ । मतदान स्थलमा प्रवेश गर्ने ठाउँमा थोरै संख्यामा मतदातालाई प्रवेश गर्न दिएका कारणले व्यवस्थित रूपमा मतदान कार्यक्रम भइरहेको छ ।
मतदानका लागि २-२ जिल्ला गरेर ४ वटा बुथ स्थापना गरिएको छ । धनुषा-महोत्तरी, सिरहा-सप्तरी, सर्लाही-रौतहट र वारा-पर्साका गरेर ४ वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् । ६७ वटा पदमा चिन्ह लगाउनु पर्ने भएकाले मतदानमा ढिलाइ भइरहेको छ ।
प्रदेश २ का कूल १ हजार ८ सय ३६ जना मतदाताहरू रहेका छन् । ८ पदाधिकारी सहित कूल ६७ पदका लागि मतदान भइरहेको छ ।
प्रदेश नंं २ को प्रदेश सभापतिमा संस्थापन पक्षबाट रौतहट जिल्लाका पार्टी सभापति कृष्ण यादव तथा संस्थापन ईतर पक्षबाट नेपाली काँग्रेसका संसदीय दलका नेता एवं प्रदेश नंं २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्यानलमा नै उम्मेदवारी दिएर प्रतिस्पर्धा गरिरहनु भएको छ ।



