३९ वर्षीय फिरदोस आलम प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका फिरदोसले २९ हजार ५२८ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका किरणकुमार साहले १८ हजार ४४२ मत पाए। प्रतिस्पर्धीसँग फिरदोसको मतान्तर ११ हजार ८६ छ।



२०४३ साल मंसिर ५ गते जन्मिएका फिरदोस आलमको जीवनको सुरुवाती यात्रा भने राजनीतिभन्दा धेरै टाढा थियो। उनी पेशाले चिकित्सक हुन्। उनले विदेशमा एमबीबीएस अध्ययन गरेका थिए र नेपाल फर्किएपछि चिकित्सा क्षेत्रमा काम गर्न थाले। केही समय उनी नेपाल प्रहरीको प्राविधिक सेवातर्फ प्रहरी निरीक्षकका रूपमा पनि कार्यरत रहे। प्रहरी अस्पतालमा बिरामीहरूको उपचार गर्दै बितिरहेको उनको जीवन एकाएक मोडियो।
२०७६ सालमा उनका पिता अफताब आलम राजपुर बमकाण्डसम्बन्धी कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि परिवार र समर्थकहरूबीच ठूलो राजनीतिक रिक्तता पैदा भयो। यही अवस्थाले फिरदोसलाई कठिन निर्णय लिन बाध्य बनायो। उनले प्रहरी सेवाबाट राजीनामा दिए र राजनीतिमा होमिए।
चिकित्सा पेशा छोडेर राजनीतिमा प्रवेश गर्नु उनका लागि सजिलो निर्णय थिएन। तर पारिवारिक विरासत जोगाउनु पर्ने दबाब र स्थानीय कार्यकर्ताको आग्रहले उनलाई नयाँ यात्रामा धकेल्यो। एक समय बिरामीहरूको उपचारमा व्यस्त रहने उनी बिस्तारै जनताको समस्या सुन्ने, समाधान खोज्ने र राजनीतिक गतिविधिमा सक्रिय रहने युवा नेताका रूपमा परिचित हुन थाले।
उनको राजनीतिक यात्रा पहिलो पटक २०७९ को प्रतिनिधिसभा निर्वाचनबाट सुरु भयो। त्यस चुनावमा उनले स्वतन्त्र उम्मेदवार किरणकुमार साहसँग पराजय बेहोरे। तर त्यो हारले उनलाई निराश बनाएन। चुनाव हारेर पनि उनले क्षेत्र छाडेनन्। गाउँ–बस्तीमा पुगेर जनतासँग भेटघाट गर्ने, समस्या सुन्ने र समाधानका उपाय खोज्ने काममा उनी निरन्तर सक्रिय रहे।
यही निरन्तरता र जनतासँगको सम्बन्धले उनको छवि बलियो बनाउँदै गयो। धेरै मतदाताले उनलाई ‘कागजी नेता होइन, अनुभूत हुने नेता’ का रूपमा चिन्न थाले। प्रहरी सेवामा चिकित्सकका रूपमा काम गर्दा देखेको गरिबी, उपचारको अभाव र राज्यप्रति नागरिकको निराशा उनका राजनीतिक एजेन्डाको आधार बन्यो।
रौतहट–२ अझै पनि विकासका धेरै सूचकांकमा पछाडि परेको क्षेत्र हो। सडक, सिँचाइ, गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवाको अभाव यहाँका प्रमुख समस्या हुन्। यही समस्यालाई समाधान गर्ने प्रतिबद्धता गर्दै फिरदोसले चुनावी मैदानमा कदम राखेका थिए।
उनी भन्छन्, ‘मेरो चुनावी अभियान केवल नारामा सीमित थिएन। युवा, महिला, किसान, श्रमिकदेखि ज्येष्ठ नागरिकसम्मसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, ग्रामीण सडक र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेको हुँ। र जनताले म माथि भरोस गरेर मलाई जिताएका हुन्, त्यो विश्वासमा खडामा उत्रनेछु।’
मुस्लिम समुदाय मात्र होइन, अन्य समुदायका युवाहरूसँग पनि उनले विकास र सामाजिक चेतनाबारे संवाद गर्दै आएका छन्। निर्वाचनपछि उनले जनताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकासका लागि आफू पूर्ण रूपमा समर्पित हुने बताएका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।
फिरदोस भन्छन्, ‘बुबाको निधनपछि धेरैले सोचेका थिए—के आलम परिवारको राजनीतिक प्रभाव अब कमजोर हुन्छ? तर जनताले दिएको यो मत त्यो प्रश्नको कडा जवाफ हो। बुबा अब यो संसारमा छैनन्, तर उनको नामसँग जोडिएको विश्वास अझै जीवित छ। त्यो विश्वासलाई जनताले मेरो काँधमा सुम्पेका हुन्।’
डा फिरदोस आलम मधेस प्रदेशबाट संसदमा पुग्ने एक्ला कांग्रेस सांसद बनेका छन्। रास्वपाले करीब दुई तिहाई सिट पाइसकेपछि कांग्रेस सरकारमा सहभागी हुने सम्भावना छैन। यस्तो अवस्थामा जनतासँग गरेका वाचा कसरी पुरा गर्ने भन्ने उनको लागि ठूलो चुनौती हो।




