जनकपुरधाम।नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी हिराबहादुर पाण्डे बीच सरुवाको विषयमा विवाद भएको छ ।
सभापति यादवले एसपी पाण्डे आइतवार मध्यराती आफ्नो घरमा आएर गोली हान्न खोजेको आरोप लगाएका छन् । उनले भने, ‘एसपी साप सँग मेरो खासै कुनै त्यस्तो ठूलो विवाद वा मतभेद थिएन । तर, राति मलाई मार्छु भनेर पेस्तोल सहित मेरो घरमा आउनु भएको रहेछ ।’
सभापति यादवले यस विषयमा आफूले सोधीखोजी गरिरहेको बताउँदै भने, ‘मेरो घरमा पेस्तोल लिएर मार्छु भन्दै आएका एसपी पाण्डेलाई सीडीओ लालबाबु कवारी र सशस्त्रका एसपी दीपेन्द्र गिरीले फर्काएर लिएर जानुभएको रहेछ । मैले अहिले मात्रै थाहा पाए । यो विषयमा सोधीखोजी गर्दैछु,’ उनले भने ।
केहि दिन अघि सभापति यादव संग विवाद हुँदा सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले एसपीलाई हेडक्वार्टर तानेपछि उनि सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेको बताइएको छ ।
यस विषयमा एसपी पाण्डेले आफूहरूबीच कुनै विवाद नभएको र उनलाई मार्छु भनेर घर समेत नगएको दाबी गरे । एसपी पाण्डेले भने, ‘उहाँसँग मेरो कुनै विवाद भएको होइन, कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गरेपछि उहाँ (यादव) ले मलाई मेरो सुरुवा गर्छु भन्नुभएको थियो र सरुवा पनि भयो ।’
कात्तिक ११ मा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा सुशील यादव र प्रमोद यादवलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरू अहिले पुर्पक्षका लागि जेलमा छन् । एसपी पाण्डेले यहि केसमा सभापति यादवले आफूलाई ती अभियुक्तहरुलाई समातेपछि छोड्न आफूलाई दबाब दिएको बताए । एसपी पाण्डेले भने, ‘यहि मात्र विवाद हो, उहाँ संग अरु कुनै कुरा केहि छैन र मेरो सरुवाको विषयमा म उनको घरमा समेत गएको हैन ।
सिराहाका प्रमुख जिल्ला अधिकारी कवारीले पनि एसपी पाण्डे राती गस्तीमा गएको वोहक अरु थप केहि आफूलाई थाहा नभएको बताए ।
असार ८ गते सिरहा सरुवा भएर आएको एसपी पाण्डेलार्ई ६ महिना मै प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ र उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई सिरहा पठाइएको छ ।
यता केहि दिन देखि सिके राउत नेतृत्वको जनमत पार्टीले समेत सिरहामा किसान आन्दोलनको नाममा बन्द, हडताल गर्नुको साथै सवारी साधनहरुमा तोडफोड र आगजनी गरि क्षति गरिरहेको अवस्थामा एसपीको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ।