महोत्तरी - उपचारको बहानामा बिरामीको घर पुगेर लुटपाट गर्ने नक्कली डाक्टर पक्राउ परेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा.आलोक भन्ने जीतेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गरेको हो ।
उनको साथबाट ५९ हजार ३ सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पीडित व्यक्तिमधुमेहका रोगी थिए ।
उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलल आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए । उपचारका नाममा उनले बिरामीलाई बेहोश हुने औषधि खुवाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद ३ लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
नक्कली डाक्टर मण्डललाई अनुसन्धान एवम कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।