जनकपुरधाम- प्रदेश २ को महोत्तरीमा पहिलो पल्ट युवा स्वरोजगार उन्मुख बर्दिबास महोत्सवको आयोजना हुँदैछ।
नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा युवा स्वरोजगार उन्मुख बर्दिबास महोत्सव आयोजना हुने भएको छ ।
चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधीर अग्रवालले विशेष गरी युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्य सहित माघ १३ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना हुने जनाए ।
अध्यक्ष अग्रवाले महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवमा निम्त्याउने जनाएको छ ।
थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरू पलायन भइरहेको बताउँदै अध्यक्ष अग्रवालले विदेश पलायनलाई समेत महोत्सवले रोक्न मद्दत गर्ने बताए ।
उनले भने, ‘महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना छन् । थोरै लगानीमा पनि सफल उधोगी बन्न सक्ने जानकारीको अभावमा युवाहरु पलायन भैइरहेको छ । यस्तो बिदेश पलायनलाई समेत महोत्सवले रोक्न सहयोग पुर्याउँछ ।’
चेम्बरका सचिव सुदर्शन काफ्ले पानी पुरी बनाउने अटोम्याटिक मेशिनदेखि ठुल्ठुला उद्योगहरूको अवधारणा महोत्सवमा प्रवेश गर्ने जोकोहीले महसुस गर्न पाउने जनाए ।
बर्दिबासमा टिसर्ट-ट्रयाक सुट, जुत्ता-चप्पल, ढोका-झ्याल, आइसक्रिम र मैनबत्ती-अगरबत्ती बनाइने सहितका कारखाना सञ्चालित छन् । महोत्सवका सहभागीलाई यी कारखाना समेत अवलोकन गराइने आयोजकले जनाएको छ।
महोत्सवमा बाल उद्यान, मनोरञ्जनात्मक कार्यक्रम र ख्यातिप्राप्त कलाकारहरू बोलाएर अवलोकनकर्ताहरूले फरक संवाद समेत लिन सक्ने आयोजक पक्षले जनाएको छ ।
प्रदेश-२ मा नै महोत्सव अहिलेसम्मको फरक भएको दावी गर्दै महोत्तरी चेम्बर अफ कमर्सका स-सचिव हरि काफ्लेले महोत्सववाट युवाहरु स्वरोजगार बन्न उत्प्रेरित हुने बिश्वास ब्यक्त गरे ।
प्रदेश-२ तथा महोत्तरीको स्थानिय कला, संस्कृतीलाई पहिचान गराउन पनि आयोजक पक्षले गृहकार्य गरिरहेको छ ।
विशेषगरी युवाहरुलाइ स्वरोजगार बनाउने अभियान अन्तर्गत महोत्सवले फरक -फरक क्षेत्रका व्यापारी, उद्योगी, कृषीसंग समबन्धित प्राबधिक तथा डाक्टरहरुको माध्यमवाट उत््प्रेरित हुने परामर्शलाई नै प्राथमिकता दिने अध्यक्ष अग्रवालको भनाइ छ ।