बिहीबार साँझ हुने बित्तिकै लक्ष्मीसागर पोखरीमा भीड बढ्न थाल्छ । नेपालबाट मात्रै नभई भारततर्फ पनि निकै संख्यामा भीड जम्मा हुन्छ । केही समयमै पण्डितद्वारा संगीतमय आरती सुरु हुन्छ । महोत्तरी मटिहानी नगरपालिकास्थित मटिहानी ऐतिहासिकस्थलमध्ये एक हो । लक्ष्मीसागर र लक्ष्मीनारायण आरती प्रत्येक बिहीबार गरिँदै आएको छ । नेपाल–भारत सीमामा रहेको नगरपालिकामा गत ५ साउनबाट साप्ताहिक आरती थालिएको हो ।
मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल आरती कै लागि सीमा क्षेत्र गाउँका सम्पूर्ण बासिन्दा पुग्ने गरेको बताउँछन् । मठै महामठ–लक्ष्मीनारायण मठ । महन्थका पनि ‘मानमहन्थ’ । सात प्रकारका माटाको संगमस्थल– सप्तमृतिका । त्रेतायुगमा रामसीता विवाह हुँदा ‘वेदी’ बनाउन माटो खनेर लगिएको मिथिलाको पावन भूमि । जहाँ छ, ३०३ वर्ष पुरानो देशकै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालय । पैदले तय गरिने १३३ किलोमिटरको १५ दिने माध्यमिक परिक्रमा प्रमुख ‘विश्रामस्थाल’ हो ।
हप्तैपिच्छे हुने अनेक पर्व–त्यौहार । यी सब मटिहानीका साँढे पाँच सय वर्ष पुरानो पहिचान मात्रै होइन, नेपालको धार्मिक, सांस्कृतिक र शैक्षिक धरोहरको ‘वैभव’ हो । यही कारण वर्षौंदेखि आकर्षणको केन्द्र बन्दै आएको छ, मटिहानी । ‘यसबीच धार्मिक, सांस्कृतिक गतिविधि बढेकाले अहिले यो क्षेत्र राष्ट्रको ध्यान खिच्न सफल भएको छ,’ संस्कृत क्याम्पसका पूर्वप्राचार्य धिरेन्द्रकुमार झा सुनाउँछन्, ‘केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारी पनि यहाँ आउनुभएको थियो ।’
प्रदेश २ अस्थायी राजधानी जनकपुरधामबाट १५ किलोमिटर पश्चिम–दक्षिण लागेपछि महोत्तरी जलेश्वर आउँछ । त्यहाँबाट घरी पूर्व त घरी दक्षिण मोडिँदै मटिहानी बजार पुगिन्छ । बजार नपुग्दै गाउँकै मुखमा भव्य स्वागतद्वारले पाहुनालाई स्वागत गर्दछ । सोही स्वागतद्वारमै अंकति श्लोकबाट संस्कृत शिक्षाको गरिमाझल्काउँछ ।
गाउँ हुँदै अलिपर पुगेपछि झन्डै अढाई विघामा लक्ष्मीसागर तलाउ फैलिएको देखिन्छ । तलाउ उत्तर किनार मुलुकभरका मठका नायक लक्ष्मीनारायण मठ छ । चुन, मासको दाल, काठ, इँट्टा समिश्रणबाट दुई तलामा मठ ठडिएको छ । मटिहानी मठको साँढे पाँच सय वर्षको इतिहास बोकेको तागरशैलीको बखान गर्छ । मठ प्रवेशद्वार माथिल्लो भागमा टाढैबाट दुई सिंहको प्रतिमा छ । त्यहाँ पुग्नेले शरीरमा ऊर्जा उत्पन्न भएको महसुस गर्छन् ।
गेट पुगेपछि दुई विशाल हात्तीले स्वागत गर्छ । जसलाई सौभाग्यको रूपमा आगन्तुक भाग्यशाली ठान्ने गर्छन् । बिहान र साँझ पुग्दा साधुसन्त लक्ष्मीनारायण भजनकिर्तनमा झुमिरहेका हुन्छन् । ढोलक, झ्याली, कर्ताल र हारमोनियमको तालमा नाचगान गर्दै लक्ष्मीनारायण महिमा गान सुन्न र देख्न पाइन्छ । यो मठ राजगुठीको सूचीमा पर्छ । यहाँका मानमहन्थले देशभरका अन्य मठका महन्थको पगरी गुथाउँछन् ।
इतिहासको पानामा साढे पाँच सय वर्षपूर्व मटिहानी जंगलमा पोखरीछेउ रूखमुनि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त पिर बाबा बस्थे । रामदास (तस्मैया बाबा)लाई पिरबाबाले भविष्यवाणीस्वरूप कुनै चमत्कारपूर्ण दृश्य भएको स्थानमा आफ्ना खन्ती र चिम्टा गाड्न सल्लाह दिए । एकदिन रामदासले एउटा बिरालोलाई मुसाले वशमा पारेको अद्भुत दृश्य देखे । उनले पिरबाबाको भविष्यवाणी स्मरण गर्दै त्यही ठाउँमा अठारौं शताब्दीपूर्व खन्ती र चिम्टा गाडे र मठ स्थापना गरे । जुन अहिले पनि यथावत् छ ।
त्रेतायुगमा माता सीताको विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो । जनकपुरधाममा त्यही माटोबाट वेदी बनाइयो । माटो खनेकै ठाउँमा लक्ष्मीसागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका थिए । सोही मूर्ति प्राणप्रतिष्ठा गरेपश्चात् नैवेद्यका रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण मन्दिर स्थापना गरेको इतिहासका जानकार बताउँछन् ।
मिथिला क्षेत्र मटिहानीमा मात्रै सात प्रकारका माटो पाइन्छन् । त्यसैले मटिहानीलाई ‘सप्तमृतिका’ संगमस्थल पनि भनिन्छ । मटिहानी नामाकरण यसैकारण भएको हो । ‘रामसीताको विवाह हुँदा सीताले माटो खनेको ठाउँ भएकाले सो स्थानको नाम ‘मृतखनी’ रहन गयो । पछि, त्यही अपभ्रंस हुँदै मटिहानी हुन गएको हो,’ प्राध्यापक मनोज झा मुक्ति भन्छन् ।
संगम नदीको माटो, राजदुवार (गढी), हात्तीसार, तबेला (घोडासार), गौशाला (गाई गोठ), लक्ष्मीसागर (सरोबर), धमिराको माटो मिथिला क्षेत्रमा प्रचलित छ । त्यसैले रामसीता विवाहमा वेदी निर्माणका ऋषिमुनीले मटिहानीको माटो रोजेका थिए । ‘त्रेताकालमा माता सीताको विवाहमा माटो खनेर ल्याउने एउटा विध मटिहानीमा भएको थियो,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णब भन्छन्, ‘मटिहानीलाई एउटा कुण्डका रूपमा पनि लिइन्छ ।’
हुन त, जनकपुरधाममा हुने मटकोरलगायत परम्परा ऐतिहासिक गंगासागरमा गरिँदै आएको छ । तर, विवाह, पूजाआजा, शिलान्याश, गृहप्रवेश गर्दा १० गाउँका गाउँलेलाई मटिहानीको माटो नभई नहुने मान्यता छ ।
मटिहानीको अर्को पौराणिक र ऐतिहासिक पक्ष हो, मिथिला माध्यमिक परिक्रमा । नेपाल र भारतमा गरिने १५ दिने मिथिला परिक्रमामा १३३ किलोमिटर पैदल तय गरिन्छ । यो धार्मिक यात्रा पनि हो । १८औं शताब्दीबाट सुरु परिक्रमा १५ विश्रामस्थल पर्छ, जसमध्ये मटिहानी महत्वपूर्णस्थल रहेको लक्ष्मीनारायण मठ मठिहानीका मानमहन्थ जगरनाथ दास वैष्णव बताउँछन् । ‘परिक्रमा हाम्रो संस्कृति, सभ्यता हो, जहाँजहाँ रामसीताको चरण परेका छन्, त्यहाँ त्यहाँ भ्रमण गर्दा मनोकामना पूरा हुने जनविश्वास छ,’ उनी थप्छन्, ‘मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने मिथिला मध्यमा परिक्रमा हो ।
प्राचीन मिथिलाको राजधानी जनकपुर चारैकुनामा राजा जनकले चार शिवालय क्रमशः कलाणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरेका थिए । जसलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास बताउँछन् । चारै शिवालय राजा जनकको इष्टदेव हुन् । मटिहानी स्थानमा लक्ष्मीनारायणको विशाल मन्दिर र दरबारसमेत रहेको छ । जानकी मन्दिर निर्माण हुनुभन्दा झन्डै दुई वर्ष पुरानो लक्ष्मीनारायण दरबार १५ विघा क्षेत्रफलमा फैलिएको छ ।
तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायण दरबारलाई १ हजार ३ सय विघा जग्गा दान गरेका थिए । तीमध्ये झन्डै चार सय विघा जग्गा गुठी संस्थानले विक्री गरिसकेको छ । ३ सय ८४ विघा अझै बाँकी रहेको र अन्य अतिक्रमणमा परेको पूजारी बताउँछन् । जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, रत्नसागर मठलगायत धार्मिक मठमा महन्थको पदवी दिने अधिकार मटिहानी मठकै महन्थसँग रहने गरेको मानिन्छ । त्यसैले त्यहाँको महन्थलाई ‘मान महन्थ’ भनिएको हो । मान महन्थले आफ्नै हातबाट पगरी लगाइदिएपछि मात्र धनुषा र महोत्तरीका अन्य मठ मन्दिरका महन्थले वैधता पाउने विधान छ ।
मटिहानी मन्दिरको नाममा धनुषा फुलगामामा १ सय ३२ विघा, कजरारमौलमा ३४ विघा, सपहीमा ४३ विघा उमाप्रेमपुरमा १९ विघा महोत्तरी मझौरा विसनपुरमा ८ विघा, धिरापुरमा ५५ विघा, मटिहानीमा ६० विघा र जाउखमा २७ विघा जग्गा छन् । तीमध्ये १ सय ७५ विघा जग्गा अतिक्रमण भइसकेको छ । यो स्थानमा नेपालकै पुरानो संस्कृत क्याम्पस छ । अहिले पनि त्यहाँ संस्कृत अध्ययन गर्ने पुग्ने गर्छन् ।
नेपाल संस्कृत विश्वविद्यालयमातहत पुगेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा दर्जनौं विद्यार्थीलाई निःशुल्क भोजन व्यावस्थापन गरिँदै आएको छ । पर्यटकीय सम्भावना बोकेको मटिहानी चर्चामा रहे पनि संरक्षण पर्खाईमा छ । कुनै बेला हात्तीघोडाको चहलपहलले लक्ष्मी नारायण मठ सजिसजाउ हुन्थ्यो । संस्कृत शिक्षा आर्जन गर्ने प्रशस्त भोजन र सुविधामा पढ्न पाउँथे तर अहिले अवस्था भने भिन्न छ ।
नेपालभरकै महन्थका पनि महन्थ अर्थात् महोतरी मटिहानी नगरपालिकामा रहेको लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ दास मठको अवस्था देखेर चिन्तित छन् । मठको आफ्नै सम्पत्ति सदुपयोग नहुँदा जीर्णोद्वारका साथै दैनिक कार्य सञ्चालन तथा विद्यार्थीको सुविधामा प्रतिकुल असर परिरहेको उनी बताउँछन् ।
पुरानो गुरुकुलको चर्चा तस्मैया बाबाका शिष्य जयकृष्ण दास थिए । उनी स्वयं संस्कृतका महावैयाकरण थिए । उनले नै १७७५ सालमा संस्कृत पाठशाला (गुरुकुल) स्थापना गरे । जुन अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नामले चिनिन्छ । जहाँबाट नेपालमा औपचारिक शिक्षा सुरुवात भएको राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् ।
१८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । त्यसभन्दा ५० वर्षअघि मटिहानीमा गुरुकुल खोलिएको थियो । १९१० सालमा जंगबहादुर राणाले काठमाडौंमा दरबार हाइस्कुल खोलेका थिए । दरबार हाइस्कुलको नामनिशान केही नहुँदै मटिहानी–७ मा लक्ष्मीनारायण मठबाट संस्कृत गुरुकुल सञ्चालन थियो । तर, राज्यको नजरमा यो स्कूलले सोचेजस्तो अभिभावकत्व नपाएको नव्य न्याय शास्त्रका डा. गोविन्द चौधरीको गुनासो छ ।
गुरुकुलको इतिहास गाउँका बुढापाखाबाट मात्रै सुन्न पाइन्छन् । दस्तवेज धमिराले खाइसकेको छ । ‘यहीँबाट ज्ञान आर्जन गरेर सयौंले विद्वानको मानपदवी पाए तर मटिहानीको ऐश्वर्यलाई चिनाउने लाल अझै भेटिएको छैन,’ डा. चौधरी भन्छन्, ‘पुरातत्व विभागले देशको जेठो स्कूल’bout अध्ययन, अनुसन्धान गर्नुपर्छ ।’
शैक्षिक जागरण र सुधारका अग्रदूत बालगुरु षडानन्द (भोजपुर, दिङ्ला)ले शिक्षा आर्जन गरेको विद्यालयलाई पछिल्लोकाल प्रजातान्त्रिक आन्दोलन (२०१७–२०४६)मा यहीँकै विद्यार्थीले सहादत दिएको इतिहास रहेको मटिहानीवासी सम्झन्छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका महान् शहीद केशव कोइरालाको शिक्षा यहीँ भएको हो, उनको सहादतस्थल पनि मटिहानीकै माटो हो ।
झन्डै १५ कठ्ठा क्षेत्रफलमा फैलिएको कक्षा ८ देखि १२ सम्म अध्ययन÷अध्यापन हुने विद्यालयमा पढेका विद्यार्थी अहिले मुलुककै विशिष्ट ओहदामा पुगेर जिम्मेवारी निर्वाह गरिरहेको मटिहानीबासी सम्झन्छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति भइसकेका कुलप्रसाद कोइराला, पाठ्यक्रम विकास केन्द्रका निर्देशक शम्भु दाहाल, सरकारको विशिष्ट श्रेणीका शम्भु कोइराला र न्यायशास्त्रका प्रकाण्ड विद्वान प्राध्यापक डा. गोविन्द चौधरी र हाल बाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झा यहीँका उत्पादन हुन् ।
मटिहानी नगर प्रमुख मण्डल सरकारी अधिकृत, प्रोफेसर, वकिल, पत्रकार यही विद्यालयको भएकामा गर्व गर्छन् । भारत बिहार प्रान्तस्थित मिथिला विश्वविद्यालय, दरभंगा विश्वविद्यालय र बिहार विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार हुने पनि कैयौं यसै विद्यालयका छन् । २०४६ सालपछि भने विद्यालयमा पढ्न आउने विद्यार्थी घटेका छन् ।
खासमा प्रजातन्त्र पुनस्र्थापनायता ठाउँठाउँमा विद्यालय स्थापना लहर चलेपछि विकट पहाडी भेगबाट पढ्न आउनेको संख्या घटेको शिक्षक बताउँछन् । ‘भारतदेखि नेपालका विकट पाहाडी भेगका विद्यार्थी भरिभराउ हुन्थे,’ कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा भन्छन्, ‘ती दिन सम्झँदा अहिले सुनसानझैं लाग्छ ।’ अहिले पनि २७ जिल्ला र छिमेक भारतका विभिन्न ठाउँ गरी १५० विद्यार्थी अध्ययनत रहेको झाले सुनाए । अध्ययनरत विद्यार्थीमा महोत्तरीबाहेक विकट पहाडी जिल्ला दैलेखका बढी छन् ।
विगतमा व्राह्मण वटुकमात्र पठनपाठन गर्न पाउने विद्यालयमा अहिले सबै जातजाति, धर्म परम्पराका छात्रछात्रा छन् । विद्यालयमा हिन्दू परम्पराका विभिन्न जातजातिका मात्र नभई इस्लाम धर्म परम्पराका विद्यार्थी पनि छन् । अहिले व्राह्मण, क्षत्री, जनजाति (केवट, धानुक) दलित (परियार, खत्बे, चमार) जातिका हिन्दू परम्पराका मात्र नभई इस्लाम धर्म परम्पराकासमेत अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । कुल १५० विद्यार्थीमध्ये ६५ छात्रावासमा छन् । मुलुकको राजगुठीबाट विद्यालय छात्रावासमा रहने विद्यार्थीले भोजनवृत्ति पाउँदै आएका छन् । स्थानीय व्यवस्थापन मटिहानीस्थित लक्ष्मीनारायण मठले गर्दै आएको छ ।
मुलुकको माध्यमिक तहको पाठ्यक्रमअनुसार अनिवार्य सबै विषय अन्य विद्यालयजस्तै यहाँ पनि पढ्नुपर्ने हुन्छ । यसअतिरिक्त अनिवार्य संस्कृत (भाषा, साहित्य) र ऐच्छिक प्रथम र द्वितीय गरी वेद, ज्योतिष, साहित्य, व्याकरण, न्यायशास्त्र र कर्मकाण्ड विषय छन् । प्रथम ऐच्छिकमा कर्मकाण्डको विकल्पमा साधारण विद्यालयको जस्तै इच्छाधीन गणित र शिक्षा रोज्न पाउने व्यवस्था छ । द्वितीय ऐच्छिकमा भने वेद, ज्योतिष, साहित्य, व्याकरण र न्यायशास्त्रमध्ये एक विषय पढ्नुपर्ने नियम छ । द्वितीय ऐच्छिकका सबै विषय संस्कृत माध्यमका छन् ।
छात्राबास बस्ने वटुक (छात्र)ले दैनिक बिहान ‘रुद्राभिषेक’ पाठ गर्ने नियम छ । यो अखण्ड रुद्राभिषेक महर्षि फाउन्डेसनको सहयोगमा चार वर्षअघिबाट प्रारम्भ गरिएको हो । फाउन्डेसनले विद्यालयलाई एक ध्यानगुरुको दरबन्दी दिएको छ । छात्रावासमा बस्ने विद्यार्थीले सधैं अनिवार्य बिहानी योग, ध्यान र रुद्राभिषेकमा सरिक हुनुपर्छ । सधैं सन्ध्या आरती हुन्छ । नियमित रुद्राभिषेक पाठले विद्यार्थीको बाचन शुद्ध भएर देवकार्य, पितृकार्य नियमसंगत हुने प्राचार्य पौडेल बताउँछन् । विद्यालय परिसरसँगै जोडिएको पौराणिक लक्ष्मीसागर (तलाउ)मा प्रत्येक बिहीबार हुने लक्ष्मीनारायण आरती छात्रावासका वटुकले नै गर्ने गरेका छन् ।-सुजित झा/राजधानी दैनिक




