जनकपुरधाम- छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लाहरूमा पनि देखिन थालेको छ। गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ।
यस प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ स्वाब परीक्षण गरिएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ। यता कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश २ का जिल्लाका भारतसँग सीमा जोडिएका नाकाहरूमा कडाइ गरिएको छ।
छिमेकी राष्ट्र भारतमा दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको छ। सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको जानकारी दिए।
महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण शुरु गरिसकेको छ।
प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजीकरणमा पालिकाहरूमा पनि हेल्प डेस्क समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
प्रदेश २ को बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ।
प्रदेश २ का कतिपय स्थानीय तहहरूले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयले जनाएको छ। ओमिक्रोन भाइरसको जोखिम बढ्नुका साथै सङ्क्रमितहरू समेत दैनिक वृद्धि हुनुले जनकपुरधामलगायतका प्रदेश २ का अधिकांश नाकाहरू कोरोनाको ‘हटस्पट’ बन्न सक्ने चिकित्सकहरूले बताएका छन्। मुलुकको सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका समेत प्रदेश २ मै रहेको छ।
यस प्रदेशको ८ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमिटर मोटर बाटो र करिब पाँच सय ५७ स्थानका गल्लीहरूबाट नेपाल–भारत आवतजावत हुने गरेको छ।
यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायबाट कडा निगरानी हुनु पर्ने अवस्था देखिएको छ। देशकै प्रमुख नाका वीरगन्ज भन्सार नाकामा मात्रै आवतजावतमा कडाइ हुन सके पनि केही हदसम्म भारतबाट भित्रिन सक्ने कोरोना सङ्क्रमितहरूको पहिचान र नियन्त्रण हुनसक्ने विज्ञहरूले बताएका छन्।
प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हुँदा यो खतराको सङ्केत हो। हेलचेक्र्याइँ गरिए स्थिति बिग्रिन सक्ने उनको भनाइ छ। यता कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गएपनि प्रदेश २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने निराशाजनक देखिएको छ। सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक झाले पुस महिना बित्नै लाग्दा यस प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र भएको बताए। निर्देशक झाका अनुसार एक मात्र डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिराहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ।
पुस महिनाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यस प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिए।
उनले भने, ‘‘यसरी यही गतिमा खोप अघि बढिरहे कोरोनाको तेस्रो लहरको प्रभाव आउँदासम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था छैन, त्यही भएर हामीले खोप लगाउने कार्यलाई गति दिनुस् भनेर जिल्ला स्वास्थ्य तथा नगरपालिका र गाउँपालिकाका प्रमुखहरूलाई भन्यौँ, तर जुन ढङ्गबाट गति लिनुपर्ने थियो, त्यो हुन सकेको छैन।’’
स्थानीय तहका जनप्रतिनिधिहरूले जसरी गम्भीरतापूर्वक लिनुपर्ने थियो। त्यो नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढेको निर्देशक झाको भनाइ छ। यसअघिका कोरोना भाइरस सङ्क्रमणमा अन्य प्रदेश जस्तै यो प्रदेशले पनि ठुलै धनजनको क्षति व्यहोर्नु परेको छ।
कोरोना भाइरस संक्रमण शुरु भएयता हालसम्म प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म यो प्रदेशमा दुई लाख २३ हजार २१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना सङ्क्रमित भएका छन्। त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमिकता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए। ‘‘खोप लगाउनेको सङ्ख्या निराशाजनक देखिएको छ’’, उनले भने, ‘‘त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरू तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ।’’
केही दिनअघि मात्र मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्रीहरू, आठवटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णय समेत भएको मन्त्री साहको भनाइ छ।
यसबाहेक कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाएको बताएको छ। ‘‘प्रदेशभरिका सबै अस्पताललाई औषधि सहित अक्सिजन लगायत स्वास्थ्य सामग्रीहरू तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ,’’ मन्त्री साहले भने, ‘‘सम्भावित तेस्रो लहर आउन नदिन अपनाउनुपर्ने सतर्कताबारे प्रजिअ र स्थानीय तहका जनप्रनितिहरुसँग नियमित समन्वय भइरहेको छ।’’
यसबाहेक कोरोना संक्रमण रोकथामबारे विभिन्न माध्यमबाट प्रचारप्रसार समेत गर्दै आएको मन्त्री साहको भनाइ छ। पहिलो र दोस्रो लहरको सङ्क्रमणका बेला प्रदेश २ मा देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने तयारी भएको प्रदेश सरकारको भनाइ छ।
‘‘प्रदेश २ का आठ वटा जिल्लामध्ये पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ,’’ मन्त्री साहले भने, ‘‘बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया अघि बढेको छ, त्यहाँ पनि छिट्टै जडान हुन्छ।’’ त्यसैले अब प्रदेशमा अक्सिजनको समस्या हुँदैन, उनको विश्वास छ।
यो प्रदेशका १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडियू शय्या, ९१ आइसियु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।
यस्तै, प्रदेशभरि १२ वटा पिसिआर परीक्षण मेसिनबाट कोभिड–१९ जाँच हुँदै आएको जनाएको छ। त्यसै गरी पुनः कोरोना महामारीको सङ्क्रमितको सङ्ख्या प्रदेश २ मा बढ्न थालेपछि जनकपुरधामको प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।
दैनिक रुपमा १ सय ४४ सिलिन्डर उत्पादन हुने सो अक्सिजन प्लान्टबाट प्रादेशिक अस्पतालको सामान्य अवस्थाको माग पूर्ति गर्नका लागि करिब करिब पुगे पनि कोरोना महामारी बढेको खण्डमा धान्न नसकिने भएकाले थप १ वटा प्लान्ट थप गरेर सञ्चालन गर्ने गृहकार्यमा प्रादेशिक अस्पताल अगाडी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले जानकारी दिए।
अहिलेको अक्सिजन प्लान्टबाट सामान्य अवस्थाका बिरामीका लागि पुगे पनि कोरोना सङ्क्रमणको दर बढेको खण्डमा अपुग हुने भएकाले नयाँ प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको जानकारी प्रमुख डा. यादवले जानकारी दिए। अहिले सञ्चालनमा आएको अक्सिजन प्लान्ट जडान गर्नका लागि नेपाल सरकारले सहयोग गरेका थिए। दोस्रो प्लान्टको स्थापना गर्नका लागि प्रदेश सरकारले पनि सहयोग गरेको प्रादेशिक अस्पतालले जानकारी दिएको छ।
त्यस्तै प्रदेश २ सरकारले तेस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याई अक्सिजन उत्पादन सुरु गरिसकेको छ। जनकपुरधाम १४ मुलेजेलिया स्थित मनिपालमा सञ्चालनमा रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा अक्सिजन प्लान्टबाट बिहीबार देखि नै उत्पादन सुरु गरेको हो।
यसैगरी निजी स्तरबाट जनकपुरधाममा वेलामा अक्सिजन प्लान्ट स्थापना भएको छ भने धनुषाको ढल्केवरमा पहिला देखि नै प्लान्ट सञ्चालनमा रहेको छ। कोरोनाको दोस्रो लहरमा भएको जस्तो समस्या अहिले आउने अवस्था नरहेको भए पनि प्रदेश सरकार गंभिर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।-नेपालभ्युजबाट