धनुषा- धनुषामा घरपालुवा जनावर गाई भैँसीमा महामारीको रुपमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाई भैँसीमा लगाइएको छ।
धनुषामा खोरेत रोगको संक्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जिल्ला भरिमा ६५ हजार गाई भैँसीमा निःशुल्क रोग विरुद्धको खोप दिएको छ।
विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रदेव साहले गत ७ पुस देखि सुरु गरिएको अभियानको क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका सहित १८ स्थानीय तहको पशु शाखा मार्फत खोप दिने काम भएको जानकारी दिनुभयो ।
डा. साहले खोरेत रोगको संक्रमणबाट किसानहरूको गाई भैँसीको मृत्यु हुन थाले पछि एफएमडि खोप दिइएको बताउनुभयो । पशुमा महामारीको रूप फैलिएको खोरेत रोग विरुद्धको खोप अभियान पछि अहिले नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले दाबी गरेको छ। यस रोगमा पशुहरूको खुर तथा मुखमा घाउ हुने भएको तर खोप अभियान पछि यस घाउ निको पनि हुन थालेको बताइएको छ।
खास गरेर खोरेत रोग लागेपछि खुट्टा तथा मुखमा घाउ भएर किरा लाग्ने र पशुले खान छोड्ने र त्यसपछि लडेर मृत्यु हुने गर्दछ। पशुहरूमा प्राणघातक रोगको रुपमा रहेको खोरेत रोग छिमेकी जिल्ला सिरहाबाट धनुषामा सरेको डा. साहले बताउनुभयो।
चालु आर्थिक वर्ष २०७८/७९मा जिल्लाभरिमा १ लाख ३० हजार चौपायामा खोरेत विरुद्धको खोप लगाउने लक्ष्य लिएको कार्यालयले पहिलो चरणमा ६५ हजार पशुलाई खोप लगाइसकेको तथा खोप अभियान निरन्तर जारी रहेको केन्द्रका प्रमख ईन्द्रदेव साहले जानकारी दिनुभयो । उनले बाँकी पशुहरुमा पनि आगामी दुइ महिना भित्रै खोप लगाइ सक्ने केन्द्रले जनाउनुभयो ।
खोप अभियानलाई तीव्रता दिनकै लागि ३६ जना खोपकर्तालाई परिचालन गरिएको र उनीहरुले घर-घरमै पुगेर पनि सेवा दिने गरेका छन् । खोप पूणर्तः निःशुल्क रहेको र खोपकर्तालाई मात्रै पारिश्रमिक स्वरुप एउटा पशुमा खोप लगाए वापत सेवा शुल्क १० रुपियाँ मात्र निर्धारण गरिएको छ ।
पशुपालनका लागि राम्रो सम्भावना भएको धनुषामा चालु आर्थिक वर्षमा पनि सबै पालिकाका पशुको लागि पूणर् खोप कार्यक्रम सञ्चालनमा रहेको छ ।
जिल्लाभरिकै सबै गाइभैंसीमा एक चरणको खोप लगाइसकेपछि आगामी जेठ महिनादेखि बुस्टर डोज लगाउने जानकारी दिँदै डा. साहले भन्नुभयो, ‘मौसम अनुकुलता र निर्धारित समय अनुसार चौपायामा खोप लगाउने भएकोले सोही प्रक्रिया अनुसार चिसो सकिएपछि मात्रै दोश्रो चरणको खोप लगाइनेछ।’
मंसिर महिनामा खोरेत रोगकै कारण जिल्लाभरिमा ६५ वटा चौपाया मरेको खोरेत रोग नियन्त्रण प्रयोगशाला काठमाण्डुको तथ्यांकले देखाएको छ । १५ वटा गाइभैंसी तथा ५० वटा बाछाबाछी खोरेत रोगकै प्रकोपले मरेकोले यो रोग अझै फैलिन नदिन तथा सोको पूणर् नियन्त्रणको लागि खोप अभियानलाई तीव्रता दिइएको हो ।
खोरेत रोग निक्कै संङ्क्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुमा समेत सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नुपर्ने सुझाव पशु चिकित्सकहरूले दिएका छन्।
बर्सेनि रुपमा फैलिने गरेको खोरेत रोगको संक्रमणबाट पशु चौपायालाई जोगाउनका लागि नियमित रुपमा नै खोप लगाउनका लागि किसानहरूलाई पशु चिकित्सकहरूले सुझाव दिएका छन्।
विभिन्न सात प्रकारको भाइरसबाट सर्ने खोरेत रोगको धनुषामा ‘ ओ’ टाइप भाइरसको संक्रमण फेला परेको बताइएको छ । एक पटक लगाएपछि तीन वर्ष सम्म खोप लगाउनु नपर्ने भएकोले खोप अभियानलाई सघाउन किसानहरु आफै पनि संवेनशील भइ कुनै पशु नछुट्ने गरी सहयोग गर्नु पर्ने धारणा पशुविज्ञहरुको छ ।
खोरेत रोग लागेको आशंका हुने बित्तिक्कै पशुको आवत-जावत तथा चरि चरणको लागि बाहिर निस्कन पूणर्तः रोक लगाउनु पर्ने सुझाव पशुविज्ञहरुले दिएका छन् । रोग लाग्ने बित्तिक्कै किसानहरुले पायक पर्ने पशु सेवा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।
त्यसैगरी भेंडा बाख्रामा लाग्ने पीपीआर रोग विरुद्धको खोप माघ १ गतेदेखि लगाउन सूरु गरिने जनाइएको छ । केन्द्रले चालु आर्थिक वर्षमा १ लाख ३६ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।