नेपालगंज- एक उद्घाटन कार्यक्रममा बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषि मन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन्।
सोमबार नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाए लगतै कार्यक्रम स्थलमा पुगेका थिए।



किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु भएपछि मन्त्री यादवले कार्यक्रम बीच मै छोडेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरामा पछाडिको बाटो हुँदै भागेको किसान नेता विष्णु यादवले बताएका छन्।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री इस्तियाक राईनले सुरु गरेको दाना फ्याक्ट्रीको उद्घाटन गर्न मन्त्री यादव नेपालगंज पुगेका थिए।
तराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्ने लगायतको माग राख्दै आन्दोलन भइरहेको छ।
सोही आन्दोलनका क्रममा संघीय सरकारका मन्त्रीहरुलाई तराई मधेशका जिल्ला प्रवेशमा रोक लगाइएको छ।
यता मन्त्री यादवले आफू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन्।




