जनकपुरधाम- प्रदेश २ सरकारले ६ सय १० जना गरिब विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन् ।
प्रदेश २ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना अन्तर्गत सरकारले गरिब विपन्न परिवारको घर निर्माण गरिदिने निणर्य गरेको छ।
बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि २०७८ र दलित सशक्तिकरण नियामावली, २०७८ स्वीकृत गरे सँगै प्रदेशका गरिब तथा विपन्न परिवारले घर पाउने भएका छन् ।
महेन्द्रनारायण निधि विपन्न आवास योजना २०७८ स्वीकृत भएपछि प्रदेशका सबै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १० परिवारको घर निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
असहाय तथा विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताका आधारमा आवासको व्यवस्था गरिने मन्त्री साहले बताए ।
यस आवास योजना अन्तर्गत पाँच लाख रुपैयाँमा प्लाष्टर सहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहनेछ।