
महेन्द्रनगर -धनुषाको बटेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
बटेश्वर गाउँपालिकाले अगामी आर्थिक २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौने ३६ करोडको बजेट ल्याएको छ ।
शुक्रबार भएको बटेश्वर गाउँपालिकाको आठौं गाउँसभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ करोड ७५ लाख ५५ हजारको अनुमानित बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी सिंहले प्रस्तुत गरेको सो बजेट अन्तर्गत पूँजिगत तर्फ १४ करोड ६२ लाख ३५ हजार, चालु तर्फ ७ करोड ८८ लाख २० हजार, सशर्त अनुदान तर्फ १४ करोड २५ लाख रुपैयाँ बजेट गरेको विनियोजन गरेको छ ।.
बजेटमा कृषि तथा पशु विकासलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिका अध्यक्ष रामअशिष महतोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाको सबै वडाको जग्गा सिंचित गर्न खेत खेतमा नहर पुग्याउने नीति लिएको बताउनुभयो । यस्तै बोरिंग जडानको व्यवस्था गर्ने, व्यवसायिक बाली तथा कृषि व्यवसाय प्रवद्र्धनमा जोड दिने, किसानलाई कृषि उपकरण अनुदानमा उपलब्ध गराउने, अनुदानमा खेती गर्न प्रोत्साहित गर्ने लगायत गाउँपालिकाको नीति रहेको सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै एकल महिला लक्षित पशुपालन, दुध संकलन केन्द्र स्थापना गर्ने नीति लिएको छ । यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास लगायतको कार्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेर नीति ल्याएको हो ।
गाउँपालिका अध्यक्ष रामअशिष महतोको अध्यक्षता तथा नेपाली काँग्रेसका नेता चन्द्रमोहन यादवको प्रमुख आतिथ्यमा भएको आठौं गाउँसभाको खुल्ला सत्र सम्पन्न भएको हो ।
सो अवसरमा काँग्रेस नेता सन्तोष यादव, बासुलाल महतो, वडा नं. १ का वडाध्यक्ष अशोक कुमार महतो, वडा नं. २ का वडाध्यक्ष विजयकुमार महतो, वडा नं. ३ का वडाध्यक्ष राममणि कुशवाहा, वडा नं. ४ का वडाध्यक्ष निरज कार्की र वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादव, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी, वडा सदस्य, नागरिक समाज, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो । गाउँसभाको संचालन तथा उद्घोषण पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले गर्नुभएको थियो ।