सुनसरी । प्रदेश नम्बर १ सुनसरी जिल्लास्थित एक महोत्सवमा आगजनी र तोडफोड गरिएको छ ।
सुनसरी जिल्लाको बर्जुमा आयोजना गरिएको बर्जु महोत्सवको क्रममा छिमेकी मुलुक भारतको कलाकार खेसारी लाल यादवको कार्यक्रम रहेकोमा सोही कार्यक्रममा कुर्शी तोडफोड सहित मँचमा आगजनी गरिएको छ ।



बर्जुमा आयोजना गरिएको बर्जु महोत्सवमा भोजपुरी सिने जगतका चर्चित गायक एवम् अभिनेता खेसारी लाल यादव नाच्ने कार्यक्रम तय भएको थियो । उनकै नाममा आयोजकले टिकट काटेका थिए ।
तर, महोत्सवमा अबेरसम्म खेसारी लाल यादव नआएपछि आक्रोसित दर्शकहरुले आयोजकले लगाएको कुर्शी तथा मँचमा तोडफोडको साथै आगजनी गरिदिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, खेसारी लाल यादव आउने कार्यक्रममा उनी नआएपछि विवाद भएको हो । पैसा तिरेर टिकट लिएका दर्शकहरुले आयोजकमाथि आक्रोस पोख्दै आगजनी सहित तोडफोड गरेको हो ।
साँझ ५ बजेसम्म खेसारी लाल यादवको प्रस्तुति नपाएपछि आक्रोसित दर्शकहरुले आयोजकसँग खेसारीलाल यादवलाई मँचमा ल्याउन माग गर्न थालेका थिए । तर, खेसारी लाल विशेष कारणले आउन नसक्दा आगजनी र तोडफोड भएको हो ।
जानकारी अनुसार, भारतमा फैलिँदै गएको कोरोना भाइरसको तेस्रो लहरको साथै नेपालमा समेत भीडभाड गर्न सरकारले प्रतिवन्ध लगाएको खवर पाएपछि उनी कार्यक्रम रद्द गरेको हो ।
त्यसअघि विगत एक महिनादेखि नै आयोजकले खेसारी लाल यादव बर्जु महोत्सवमा आउने भन्दै टिकट वापतको रकम असुलेका थिए । खेसारीलाल यादवको नाममा काटेको टिकटपछि खेसारी लाल यादव नआएपछि दर्शकहरुले मँच, कुर्शी तोडफोड सहित आगजनी गरेको हो ।
सो क्रममा अयोजकको गाडीहरु समेत जलाएको छ । महोत्सवको क्रममा आएको मनोरञ्जनात्मक समानहरुमा समेत आगजनी भएको प्रहरीले जनाएको छ । गाडीहरु जलेर ध्वस्त भएको छ ।




