जनकपुरधाम- मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका मधेश प्रदेशका ५९ जना शहिद परिवारलाई मधेश सरकारले जनही ३ लाख रुपैयाँ प्रदान गरेको छ ।
मधेश आन्दोलनको क्रममा शहिद भएका परिवारजनलाई बुधबार सप्तरीको राजविराजमा आयोजित चौथौ ’बलिदानी दिवस’का अवसरमा नगद सहित सम्मान गरिएको हो ।
मधेस सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालय अन्तर्गत मधेसी शहिद प्रतिष्ठानद्वारा बलिदानी दिवस कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहिद परिवारका सदस्यहरूलाई ३/३ लाख रुपैयाँ सहित सम्मानपत्रबाट सम्मान गरे ।
त्यसैगरी कार्यक्रममा मधेस आन्दोलनका जीउँदो शहिदको रुपमा मानिएका पर्साका मन्सी पटेल सहित घाइते र अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको सरकार प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री राउतले मधेस आन्दोलनको जगमा नै देशमा संघीयता आएको बताए । मुख्यमन्त्री राउतले मधेश आन्दोलनका क्रममा शहिद भएकाहरूको सपना मधेश प्रदेश रहेको उल्लेख गर्दै उनले शहिदको सपना पूरा भएकोमा खुसी व्यक्त गरे ।
उनले मधेस आन्दोलनका शहिद परिवारलाई सरकारले रोजगारीको व्यवस्था गरिरहेको जनाउँदै रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी स्थायी रुपमा नै व्यवस्था गर्न लागेको बताए । मधेश सरकार मधेश आन्दोलनको भावना अनुरूप अघि बढ्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समावेशी समानुपातिक व्यवस्था त्यसकै उपज रहेको दावी समेत गरेका छन् ।
मुख्यमन्त्री राउतले मधेश आन्दोलनका शहिद परिवारलाई सरकारले रोजगारको व्यवस्था समेत मिलाएको जानकारी दिँदै भने, ‘रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण वापत मधेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने व्यवस्था गर्न लागेको छ ।’
आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेशी शहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , प्रदेश सभा सदस्य मनिष सुमन सहितको वक्ताहरुले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
https://www.facebook.com/104607344773010/videos/4827168300662438 https://www.youtube.com/watch?v=HP0A5EpGRkE