जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले हिजो रुँदै गरेकी एक महिलाको फोटो फेसबुकको आफ्नो सचिवालय पेजमा पोष्ट गरे । ति महिला जनमत पार्टीका नेता सप्तरीको महदेवा गाउँपालिका घर भएका मिन्तर मुखियाकी आमा हुन् । नाम खुलाइएको छैन ।
अध्यक्ष डा. राउतका अनुसार मिन्तर मुखियालाई जसपाबाट जितेका गाउँपालिका अध्यक्ष दीपक यादवले पक्राउ गर्न लगाएका थिए । जसपाका नेता राजकिशोर यादवका भाई डिएसपी रामकुमार यादवलाई भनेर । शर्तः जनमत छाड, जसपामा प्रवेश गर । ठाउँठाउँमा दलित बस्तीको बाटो समेत बन्द गरिदिएका छन् ।
केही महिना अगाडि समेत गाउँपालिका अध्यक्षले आफ्ना मान्छे लगाएर मिन्तर मुखिया र उसकी आमा दुइटैलाई कुटपीट गर्न लगाएका थिए- अध्यक्ष डा. राउतले भनेका छन्- त्यतिबेला हामीले मुद्दा दर्ता गर्न लाग्दा प्रहरीले नै केस मिलाइ दिएका थिए ।
राउतले सामाजिक सञ्जालमा लेखेर कसैबाट दयाको अपेक्षा नगरेको उल्लेख गरेका छन् । उनले जनकारबाही भएपछि किन भयो भनेर सोध्न नआउनुहोला चेतावनी दिँदै जनकारबाहीका लागि आफैं सक्षम रहेको दावी गरेका छन् ।
जनताले जनकारबाही गर्न खोजे, पूरा जनकपुरमा दिउँसोको उज्यालोमा त प्रहरी प्रशासनले रोक्न सक्दैन भने यो गाउँपालिका अध्यक्ष र तिनका मान्छेहरूलाई के कुराको अभिमान हो ? प्रश्न गर्दे अध्यक्ष डा. राउतले अहिले सुध्रिने मौका मात्रै दिएका भनेका छन् ।-टुडेखोज




