जनकपुरधाम- जागीरको नक्कली नियुक्ति दिएर ३ जना सोझासाझा युवाहरुलाई ठगी गरेको आरोपमा धनुषाबाट एकजनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने २५ वर्षीय शहादत राईन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
राईनले सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपक कुमार रायको अनुसार राईनले स्थानीय १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारस कुमार पासवान र २० वर्षीय दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिएको भन्दै ठगी गरेको छ ।
प्रहरीका अनुसार राईनले सडक डिभिजन कार्यालयको लेटरप्याड, सरकारी छाप किर्ते गरी उनीहरुलाई सुपरभाईजर पदको नियुक्ती पत्र, मासिक तलब र सो पद सम्बन्धि उम्मेदवारको समझौता पत्र दिएर ठगी गरेका हुन् ।
सडक डिभिजन कार्यालयमा सुपरभाइजर पदको जागिर दिएको बापत तीनैजनाबाट जनही राईनले २ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
तीनैजनाले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राईनमाथि किर्ते,ठगी शीर्षकमा उजुरी दिएका थिए । सोको आधारमा प्रहरीले खोजतलासको क्रममा राईनलाई बुधबार जनकपुरधामको कदमचोकबाट पक्राउ गरेको हो ।
उनले आफूले किर्ते गरेको समेत स्वीकार गरिसकेकाले बुधबार नै जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको डिएसपी दीपक कुमार रायले बताए ।