धनुषा। मधेश प्रदेशका ८ वटै जिल्लाहरूमा १२ वर्ष देखि १७ वर्षका बालबालिकाहरूलाई मोडर्ना खोप लगाउने कार्य भइरहेको छ ।
खोप लगाउन कै लागि नेपाल सरकारको निर्देशन अनुसार बन्द गरिएका प्रदेश भरिका सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालनमा ल्याइएको छ। कोरोना महामारीको नयाँ भेरिएन्ट ओमिक्रोमको संक्रमण बढेको भन्दै जिल्लाका सबै विद्यालयहरू बन्द गरिएको थियो ।



जनकपुरधाम स्थित संकट मोचन माध्यमिक विद्यालयका शिक्षिका अनिता कुमारी झाले विद्यालयहरू खुल्ला भएपनि अध्ययन अध्यापन हुन नसकेको जानकारी दिएकी छिन् । शिक्षिका झाले विद्यालयमा खोप लिन छुट भएका विद्यार्थीहरूलाई खोप दिनका लागि विद्यालय खुल्ला गरेको जानकारी दिनु भयो ।
कतिपय संस्थागत विद्यालयहरूले अहिले भौतिक उपस्थितिमा नै अध्ययन अध्यापनको काम पनि गरिरहेको छ । नेपाल सरकारले खोपका लागि मात्र विद्यालय खोलेपनि धनुषाका संस्थागत विद्यालयहरूले पठन पाठन गराउने काम गरिरहेकाले जोखिम कायम रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिनु भएको छ ।
प्रादेशिक खोप भण्डारण गृहबाट आवश्यकता अनुसार प्रदेशको ८ वटै जिल्लामा खोप पठाउने काम भएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।
जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार जिल्ला जिल्लामा बालबालिकाहरूलाई निर्धारित खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिने काम भएकाले समयमा नै खोप लिन तथा दिलाउनका लागि अभिभावहरूसँग निर्देशक झाले आग्रह गर्नु भएको छ ।
यसै गरी बुष्टर डोज अन्तर्गत अहिलेको लागि प्रदेशमा कोभिशिल्ड उपलब्ध भएकाले सो खोप दिने काम पनि भइरहेको निर्देशनालयले जनाएको छ । अन्य खोपहरू अहिले उपलब्ध नभएको निर्देशनालयका निर्देशक झाले जानकारी दिनुभयो ।-रासस




