जनकपुरधाम- वैदेशिक रोजगारका जानेहरुको लागि नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहका धनुषाका २ जना सहित ४ जना पक्राउ परेका छन् ।
नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटल र तीनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन् ।



पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका-४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषा कै क्षिरेश्वर नगरपालिका-१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव, काभ्रेको तेमाल गाउँपालिका-५ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका-७ घर भई कौशलटार बस्ने २४ वर्षीय नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रशन्नकुमार झा रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेर चार जनालाई पक्राउ गरेको जनाएको छ।
महाशाखाका एसपी कृष्ण कोइरालाले छिट्टान बाहेक अरु अस्पताल कै कर्मचारी रहेको र उनीहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नक्कली पीसीआर रिपोर्ट बनाइ दिने गरेको बताए ।
नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न दुई जना भने फरार रहेको एसपी कोइरालाले जानकारी दिए ।
फरार हुनेमा रौतहटको राजदेवी नगरपालिका-४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक अस्पताल कै पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी रहेका छन् ।
त्यस्तै परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ भनि उल्लेख गरिएका ४ थान पीसीआर रिपोर्ट सहित ल्याबका कर्मचारी मैनालीलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरुबाट पीसीआर रिपोर्ट जेनेरेटर गर्न प्रयोग भएको कम्युटर मोनिटर १ थान, ल्यापटक १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिष्टरहरु, पीसीआर रिपोर्टहरु, रसिद र मोबाइल ५ थान बरामद गरिएको एसपी कोइरालाले जनाए ।
त्यस्तै कान्तिपुर अस्पतालको कर्मचारी नागेन्द्र कुमार यादवलाई पनि १७ थान नक्कली पीसीआर रिपोर्ट सहित अस्पताल अगाडिबाट पक्राउ गरिएको हो ।




