महोत्तरी – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महोत्तरीको औरही नगरपालिका–१ र २ नम्बर वडाको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वडा नं. १ को सभापतिमा सुजित यादव र वडा नं. २ को सभापतिमा नागेन्द्र साहलाई सर्वसम्मत चयन गरेको छ।
औरहीमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलकुमार यादवले वडा तहको संगठन बलियो भए मात्र पार्टीको समग्र संगठन प्रभावकारी बन्ने बताउनुभयो। उहाँले पार्टीलाई जनताको भावना र अपेक्षासँग जोड्दै संगठन सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।




मधेस प्रदेश कमिटी सदस्य नरेन्द्र यादवले वडा तह पार्टी संगठनको आधार भएकाले नेता तथा कार्यकर्ताबीच सहकार्य, समन्वय र सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तहका जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।

नगर सभापति तथा अधिवेशनका अध्यक्ष योगेन्द्र यादवले वडा तहदेखि नै पार्टी संगठनलाई सक्रिय, व्यवस्थित र जनतामुखी बनाउनुपर्ने बताउनुभयो। उहाँले संगठन विस्तारसँगै जनतासँगको सम्बन्ध थप सुदृढ गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
अधिवेशनमा पार्टी संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, जनतामुखी राजनीति तथा संगठन विस्तारलगायत विषयमा छलफल भएको थियो। सहभागी नेता तथा कार्यकर्ताले वडा तहबाटै पार्टी गतिविधिलाई प्रभावकारी बनाउँदै संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नवनिर्वाचित वडा सभापतिद्वय सुजित यादव र नागेन्द्र साहले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्ध सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता रहेको थियो।




