जनकपुरधाम : स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी स्थानीय प्रशासनबाट इजाजत प्राप्त सर्वसाधारणले राखेको हतियार बुझाउन गरेको सूचना बमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ ।
प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले बताए।
निर्वाचनको क्रममा सुरक्षा खतरालाई मध्यनजर गर्दै इजाजत प्राप्त सर्वसाधारणहरुको हातहतियार प्रशासनले फिर्ता मागेको र निर्वाचन पश्चात्त पुनः इजाजत प्राप्त व्यक्तिहरुलाई फिर्ता गरिने छ।